कच्चा तेलको मूल्य ४ महिना यताकै सस्तो, नेपालमा भने महँगै

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४ महिना यताकै सस्तो भएको छ । इरान र अमेरिका बीच युद्ध अन्त्य गर्ने सम्झौता भएसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ ।

आयल प्राइस डटकमका अनुसार बिहीबार (बिहान ११:१५ बजे)सम्म कच्चा तेलको मूल्य औसतमा प्रतिब्यारेल ७० अमेरिकी डलरभन्दा तल झरेको छ । यो मूल्य गत मार्च २ तारिख यताकै सस्तो हो । पछिल्लो ३ सातामै कच्चा तेलको मूल्य औसतमा २७ प्रतिशतभन्दा धेरैले घटेको हो ।

अमेरिका र इजरायलले इरान माथि आक्रमण सुरू गरेसँगै बढ्न थालेको तेलको मूल्य गत अप्रिल ७ मा प्रतिब्यारेल ११३ डलरसम्म पुगेको थियो । त्यसयता क्रमशः ओरालो लागेको मूल्य आज ७० डलरभन्दा तल झरेको हो ।अहिले कच्चा तेलको मूल्य युद्ध सुरू हुनु अघिकै ठाउँमा पुगेको हो ।

यो समाचार तयार पार्दासम्म अमेरिकी बेन्चमार्क डब्लूटीई क्रुड प्रतिब्यारेल ६९.९५ डलरमा कारोबार भइरहेको छ । त्यसैगरी, एशियाली बेन्चमार्क मुर्बान क्रुड प्रतिब्यारेल ६६.४५ डलरमा किनबेच भइरहेको छ ।

विश्व बेन्चमार्क बे्रन्ट क्रुडको मूल्य पनि घटेको छ । यो प्रतिब्यारेल ७२.६१ डलरमा कारोबार भइरहेको छ । तीन सातामै ब्रेन्टको भाउ प्रतिब्यारेल २६ डलरले घटेको छ ।

विश्व बजारमा तीन सातादेखि लगातार भाउ घटि रहे पनि नेपालमा भने यथावत रहेको छ । मूलय बढ्दा सातापिच्छे भाउ बढाउने निगम घट्दा भने १ महिनादेखि आनाकानी गरेर बसेको छ ।

पछिल्लो समय भारतबाट मूल्य घटेर आए पनि निगमले पुरानो घाटा रिकभर गर्न भन्दै मूल्य घटाएको छैन । नेपालले पेट्रोलियम पद्धार्थ भारतबाट खरिद गरेर ल्याउँछ । इण्डियन आयल कर्पोरेसनले हरेक १५/१५ दिनमा मूल्य सूची पठाउँछ । सोही अनुसार मूल्य समायोजन गर्नुपर्ने व्यवस्था छ ।

निगमले गत साता मात्रै सूचना जारी गरी १५ दिनका लागि पुरानै मूल्य यथावत रहेको जानकारी गराएको थियो । विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको उतारचढावका कारण स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको निगमले जनाएको छ ।

विगतमा भाउ बढ्दा घाटामा तेल बेच्नु परेकाले अहिले उक्त घाटा पूर्तिका लागि मूल्य समायोजन नगरिएको निगमका अधिकारीहरू बताउँछन् । यद्यपि, आगामी दिनमा अझै मूल्य घटेर आए नेपालमा पनि घटाइने उनीहरूको भनाइ छ ।

निगमका अनुसार हाल पेट्रोलको मूल्य पहिलो वर्ग प्रतिलिटर २१४.५० रुपैयाँ, दोस्रो वर्ग प्रतिलिटर २१६ रुपैयाँ र तेस्रो वर्गमा २१७ रुपैयाँ तोकिएको छ । त्यस्तै, डिजेल पहिलो वर्ग २२२.५० रुपैयाँ, दोस्रो वर्ग २२४ रुपैयाँ र तेस्रो वर्गमा २२५ रुपैयाँ तोकिएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढी र वीरगंजलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेका छ ।


Back_to_top