रेनोसँग मिलेर भारत प्रवेश गर्न खोज्दै जिली, पाउला अनुमति

काठमाडौं । फ्रेन्च कम्पनी रेनो र चिनियाँ कम्पनी जिलीको संयुक्त लगानीको हर्स पावरट्रेनले भारतमा लगानी प्रस्ताव गरेको छ । हर्स पावरट्रेनले भारतमा करिब ३,५०० करोड भारतीय रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको हो ।

यदि, भारत सरकारले यो लगानीलाई अनुमति दिएमा पछिल्ला केही वर्ष यताकै चीनसँग सम्बन्धित कम्पनीको भारतमा हुने सबैभन्दा ठूलो उत्पादनमूलक लगानीमध्ये एक हुनेछ।

ब्लुमबर्गको रिपोर्टअनुसार उक्त लगानी रेनोको चेन्नईस्थित उत्पादन प्लाण्टबाट चरणबद्ध रूपमा हुनेछ। कम्पनीले उक्त प्लाण्टमा स्ट्रङ हाइब्रिड पावरट्रेन र इन्जिन उत्पादन गर्ने योजना बनाएको छ । जसले आगामी रेनो र निसानका मोडलमा प्रयोग हुने पावरट्रेनलाई स्थानीय रूपमा उत्पादन गर्न सहयोग पुग्नेछ।

हर्स पावरट्रेन सन् २०२४ मा रेनो र चिनियाँ अटो निर्माता जिलीले स्थापना गरेका थिए। पछि साउदी अरेबियाको ऊर्जा कम्पनी अरामकोले १० प्रतिशत सेयर खरिद गरेपछि कम्पनीमा रेनो र जिलीको ४५-४५ प्रतिशत र अरामकोसँग १० प्रतिशत स्वामित्व रहेको हो।

हर्स पावरट्रेनले ब्लुमबर्गलाई दिएको प्रतिक्रियामा भारत आफ्नो लागि महत्त्वपूर्ण बजार भएको उल्लेख गर्दै लगानी स्वीकृतिका लागि भारतीय सरकारसमक्ष आवेदन दिइसकेको र छिट्टै औपचारिक निर्णय आउने अपेक्षा गरिएको जनाएको छ।

कम्पनीले भारतमा रेनो मात्र नभई अन्य अटो निर्माता कम्पनीसँग पनि पावरट्रेन विकास तथा आपूर्तिबारे छलफल गरिरहेको जनाएको छ।

भारतको नीतिगत परिवर्तनको संकेत

भारत सरकारले यस वर्ष छिमेकी मुलुकबाट आउने प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी केही नियमहरू सहज बनाएपछि उत्पादन क्षेत्रमा नयाँ लगानी आकर्षित हुने अपेक्षा गरिएको छ।

सन् २०१७ मा चिनियाँ सरकारी कम्पनी एसएआईसी मोटरले जनरल मोटर्सको प्लाण्ट अधिग्रहण गरी एमजी मोटर ब्राण्ड सञ्चालन गरेयता चीनसँग सम्बन्धित कुनै ठूलो उत्पादनमूलक लगानी भारतमा आएको थिएन । अहिले एमजी मोटरको भारतीय व्यवसायमा जेएसडब्लू समूह नेतृत्वको भारतीय पक्षको बहुमत स्वामित्व रहेको छ ।

भारतमा पछिल्ला वर्षहरूमा हाइब्रिड गाडीको माग बढ्दै गएकाले विभिन्न कम्पनीले आफ्नो विद्युतीकृत एसयूभी लाइनअप विस्तार गरिरहेका छन् । यस्तोमा हर्स पावरट्रेनको प्रस्तावित लगानीले भारतको हाइब्रिड सवारी उत्पादन उद्योगलाई थप गति दिने अपेक्षा गरिएको छ।


Back_to_top