ठूलाे परिवर्तनसहित आउँदै नेक्स्ट जेन नेक्सन

काठमाडौं । भारतीय अटोमोबाइल उत्पादक कम्पनी टाटा मोटर्सले आफ्नो सर्वाधिक लोकप्रिय एसयूभी टाटा नेक्सनको नेक्स्ट जेनेरेसन ल्याउने भएको छ ।

कम्पनीले आन्तरिक रूपमा ‘प्रोजेक्ट गरुड’ कोड नेम दिएर नयाँ पुस्ताकाे नेक्सनको काम अघि बढाएको हो । न्यू जेन नेक्सन डिजाइन, प्लेटफर्म र क्याबिनमा महत्त्वपूर्ण परिवर्तन हुनेछन् ।

सन् २०१७ मा पहिलो पटक सार्वजनिक भएदेखि नै नेक्सन टाटाको सर्वाधिक बिक्री हुने मोडल बन्दै आएको छ । कम्पनीले यसअघि सन् २०२० र २०२३ मा नेक्सनको फेसलिफ्ट मोडल ल्याएको थियो । यस पटक भने कम्पनीले यसलाई पूर्ण रूपमा नयाँ पुस्ताको रूपमा आधुनिक बनाउन लागेको हो ।

टाटाको प्रोजेक्ट गरुड अन्तर्गत आउने नयाँ नेक्सनको मुख्य आकर्षण यसको डिजाइन हुनेछ । यो एसयूभी टाटाको पछिल्लो आधुनिक डिजाइन शैलीमा आधारित हुनेछ । जसमा अझ शार्प र आकर्षक अगाडिको भाग, नयाँ लाइटिङ सेटअप र प्रिमियम लुक रहनेछ।

गाडीको क्याबिनमा पनि नयाँ ड्यासबोर्ड लेआउट, उच्च गुणस्तरका सामग्रीहरू र अत्याधुनिक इन्फोटेनमेन्ट र कनेक्टिभिटी सुविधाहरू उपलब्ध हुनेछन् ।

टाटाले नयाँ नेक्सनमा ‘एक्स वान’ प्लेटफर्मलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ । तर व्यापक संरचनात्मक परिवर्तनहरू हुनेछन् । टाटाका इन्जिनियरहरूले अब सुरक्षा, परिष्कृतता र समग्र ड्राइभिङ डाइनामिक्स सुधार गर्न यसलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ।

नयाँ पुस्ताको नेक्सनमा परिचित १.२ लिटर टर्बो पेट्रोल इन्जिनले निरन्तरता पाउने सम्भावना छ । जुन म्यानुअल र अटोमेटिक गियरबक्स विकल्प सहित आउने छ । सीएनजी संस्करण पनि यस लाइनअपको हिस्सा रहने अपेक्षा गरिएको छ । नेक्सन ईभीले पनि नयाँ पुस्ताको हिस्साको रूपमा ठूला अपडेटहरू प्राप्त गर्नेछ। नेक्सन ईभीको ब्याट्री र मोटर क्षमताको यकिन विवरण आउन बाँकी नै छ ।

१.५ लिटर डिजेल इन्जिनको भविष्य भने अझै अनिश्चित छ। हालको इन्जिनले बीएस ६.२ उत्सर्जन मापदण्डहरू पूरा गरे पनि यसलाई भविष्यको बीएस ७ नियमहरूको पालना गर्नका लागि अपग्रेड गर्दा लागत बढ्न सक्छ । टाटा मोटर्सले डिजेल संस्करणलाई निरन्तरता दिने वा नदिने भन्नेबारे पुष्टि गरेको छैन ।

टाटा मोटर्सले आधिकारिक रूपमा नयाँ पुस्ताको नेक्सनको लन्च मिति सार्वजनिक गरेको छैन । तर, रिपोर्टहरूका अनुसार यो एसयूभी २०२७ को मध्यसम्ममा आउने तालिका रहेको छ ।


Back_to_top