काठमाडौं । एसएआइसी ग्रुपको स्वामित्वमा रहेको एमजीले आफ्नो ब्रिटिस विरासत झल्काउने नयाँ कार कन्सेप्ट सार्वजनिक गरेको छ । बेलयातमा चलिरहेको गुडउड फेस्टिभल अफ स्पीडमा कम्पनीले एमजी गो कन्सेप्ट सार्वजनिक गरेको हो ।
कम्प्याक्ट कार सेग्मेन्टको एमजी गो कन्सेप्टले अहिले निकै चर्चा पाइरहेको छ । कम्पनीले साइबरस्टर बाहेक अन्य अधिकांश मोडलहरू सामान्य परिमार्जन गरेर ल्याइरहेको समयमा देखाइएको गो कन्सेप्टले धेरैको ध्यान खिच्न सफल भएको हो ।
डिजाइनका हिसाबले एमजी गो निकै आकर्षक देखिन्छ । अगाडि गोलाकार हेडलाइट, सानो ग्रिल, मिनीबाट प्रेरित बडी प्रोफाइल लाग्ने एमजी गो कन्सेप्ट निकै राम्रो देखिएको छ ।
एमजीले गो कन्सेप्टलाई केवल भविष्यको सहर केन्द्रित ईभी मात्र नभइ नयाँ सोच र डिजाइनको बाटो देखाउने काम गरेको बुझ्न सकिन्छ । रेनो ५ जस्ता रेट्रो डिजाइन कारमा युरोपियली उपभोक्ता रमाइरहेको समयमा एमजी पनि रेट्रो डिजाइनमा ढल्केको अनुमान लगाउन सकिन्छ ।
कम्पनीका अनुसार गो कन्सेप्ट तयार गर्दा आफ्नो विगतका एमजीबी जीटी, एमजी मेटोर टर्बो, एमजी जेडआर र एमजी इएक्स फोर जस्ता ऐतिहासिक मोडलबाट प्रेरणा लिइएको छ । कम्पनीले पुराना मोडल सम्झन मात्र नभई नयाँ पुस्ताको सानो कार विकास गर्न गो कन्सेप्ट सफल हुने कम्पनीको दाबी छ ।
कन्सेप्ट कार देखाए पनि यसमा रहने ब्याट्री क्षमता, मोटर पावर, ड्राइभिङ रेन्ज, चार्जिङ स्पीड, टेक फिचरको विषयमा कुनै आधिकारिक जानकारी बाहिर ल्याएको छैन । अन्तर्राष्ट्रिय मिडियाहरूले लेखेको समाचार अनुसार यसलाई कम्पनीले एमजी-२ नामबाट ल्याउने सम्भावना धेरै छ ।


