काठमाडौं । इन्डोनेसियन अटोमोबाइल उत्पादक भिनफास्टले भारतमा दुईपाँग्रे सवारी साधन पनि उत्पादन गर्ने भएको छ । हाल भारतमा चारपाँग्रे सवारी उत्पादन गर्दै आएको कम्पनीले चाँडै इलेक्ट्रीक स्कुटर र मोटरसाइकल उत्पादन गर्ने भएको हो ।
यही क्रममा कम्पनीले भारतमा दुई नयाँ दुईपाँग्रे सवारीका लागि डिजाइन पेटेन्ट दर्ता गरेको छ । कम्पनीले हालै मात्र भाइपर ई-स्कुटर र सुलाड कन्सेप्टमा आधारित देखिने इलेक्ट्रीक मोटरसाइकल उत्पादनका लागि डिजाइन पेटेन्ट दर्ता गराएको हो ।
यससँगै भिनफास्टले भारतका लागि पहिले घोषणा गरेका तीनवटा ई-स्कुटरभन्दा पनि ठूलो उत्पादन योजना बनाइरहेको हो ।
यसअघि सन् २०२६ को जुन महिनामा भारतमा पेटेन्ट भएको स्पोर्टी डिजाइनको एउटा स्कुटर भिनफास्ट सँग मिल्दोजुल्दो देखिए पनि त्यसमा ट्विन-पड हेडलाइट र केही गोलाकार बडी प्यानल जस्ता भिन्नता थिए ।
तर, पछिल्लो पेटेन्टमा देखिएको स्कुटर भने भियतनाममा बिक्री भइरहेको भाइपरसँग निकै मिल्दोजुल्दो छ । यसमा आकर्षक एंगुुलर डिजाइन, पाँच स्पोक एलोय ह्वील, हब माउन्टेड मोटर तथा उत्पादन मोडलकै जस्तै समग्र डिजाइन रहेको छ । यद्यपि, कम्पनीले भने हालसम्म कुनै विवरण सार्वजनिक गरेको छैन ।
त्यस्तै, भिनफास्टले भारतमा पेटेन्ट दर्ता गरेको इलेक्ट्रीक मोटरसाइकल अझ बढी चासोको विषय बनेको छ । यसको डिजाइन हेर्दा कम्पनीले यसै वर्ष सार्वजनिक गरेको सुलाड कन्सेप्ट मोटरसाइकलसँग धेरै हदसम्म मेल खान्छ ।
भिनफास्टले यस कन्सेप्टको प्राविधिक विवरण सार्वजनिक नगरे पनि भियतनामी सञ्चारमाध्यमका अनुसार यसमा ५० किलोवाटसम्मको शक्तिशाली मोटर र यसको अधिकतम गति करिब १३० किलोमिटर प्रतिघण्टा हुन सक्ने अनुमान गरिएको छ ।
कम्पनीले यसअघि सन् २०२६ भित्र भारतमा आफ्ना इलेक्ट्रीक स्कुटरहरू सार्वजनिक गर्ने योजना रहेको र भियतनाममा बिक्री भइरहेका तीन मोडललाई भारतीय बजारका लागि छनोट गरेको जनाएको थियो ।
तर भाइपर ई-स्कुटर र नयाँ इलेक्ट्रिक मोटरसाइकलको डिजाइन पेटेन्ट दर्तापछि कम्पनीको भारतीय दुईपाङ्ग्रे उत्पादन योजना प्रारम्भिक अनुमानभन्दा अझ व्यापक हुने संकेत देखिएको छ ।
हालसम्म भिनफास्ट कम्पनीले यी दुवै मोडल भारतमा कहिले सार्वजनिक हुने भन्नेबारे आधिकारिक जानकारी दिएको छैन ।


