टेस्लाको बिक्रीमा उछाल, नाफामा ठूलो गिरावट

काठमाडौं । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिल-जुन)मा अहिलेसम्मकै सबैभन्दा धेरै कार बिक्री गरेको छ ।

कम्पनीले यस अवधिमा ४ लाख ८० हजार १२६ युनिट विद्युतीय कार डेलिभरी गरेको हो । यो गत वर्षको सोही अवधिको तुलनामा करिब २५ प्रतिशतले बढी हो ।

कुल डेलिभरीमध्ये मोडल थ्री र मोडल वाईको हिस्सा ४ लाख ६७ हजार ७६२ युनिट रहेको छ । मोडल एस, मोडल एक्स र इबरट्रकसहितका अन्य मोडलले भने १२ हजार ३६४ युनिट मात्र योगदान गरेका छन् ।

बिक्री बढेसँगै टेस्लाको दोस्रो त्रैमासिक आम्दानी पनि २६ प्रतिशतले बढेर २८.२४ अर्ब अमेरिकी डलर पुगेको छ । तर, आम्दानी बढे पनि कम्पनीको सञ्चालन आम्दानी भने ५७ प्रतिशतले घटेर करिब ४० करोड डलरमा सीमित भएको छ । समायोजित प्रतिशेयर आम्दानी ३३ सेन्टमा झरेको छ । त्यसपछि टेस्लाको शेयर मूल्य करिब ४ प्रतिशतले घटेको छ ।

टेस्लाको अटोमोटिभ व्यवसायको कुल मार्जिन पनि घटेर १६.३ प्रतिशतमा आइपुगेको छ । प्रतिगाडी औसत आम्दानी ४५ हजार ३४५ डलरबाट घटेर करिब ४२ हजार ७३० डलरमा झरेको हो । अन्य कम्पनीलाई उत्सर्जन मापदण्ड पूरा गर्न बिक्री गरिने रेगुलेटरी क्रेडिटबाट हुने आम्दानी पनि घटेको छ ।

यसैबीच, टेस्लाले आर्टिफिसियल इन्टेलिजेन्स, रोबोट्याक्सी र अप्टिमस ह्युमानोइड रोबोटमा ठूलो लगानी गरिरहेको छ । दोस्रो त्रैमासिकमा अनुसन्धान तथा विकास खर्च ४९ प्रतिशतले बढेर २.३७ अर्ब डलर पुगेको छ ।

टेस्लाको ऊर्जा भण्डारण व्यवसायले भने राम्रो प्रदर्शन गरेको छ । कम्पनीले दोस्रो त्रैमासिकमा १३.५ गिगावाट आवर क्षमताका ब्याट्री स्टोरेज निर्माण गर्दै नयाँ रेकर्ड बनाएको छ ।

टेस्लाको नाफामा स्पेसएक्समा रहेको लगानीको बढेको मूल्यबाट करिब १ अर्ब डलरको सकारात्मक प्रभाव परेको छ । तर, उक्त लगानी बिक्री नगरेकाले यो लाभ कम्पनीको नियमित व्यवसायबाट आएको आम्दानी भने होइन ।


Back_to_top