काठमाडौं । चेरीको अफरोड केन्द्रित ब्रान्ड आईकार ब्राण्डमा तेस्रो मोडल तयार भएको छ । कम्पनीले न्यू इनर्जी भेहिकल अन्तर्गत आइकार भी-२५ लाई रेन्ज एक्सटेन्डेड एसयूभीको रुपमा ल्याउने भएको हो ।
आइकार भी-२५ लाई अर्को महिनाबाट चीनमा बिक्री थाल्ने तयारीमा कम्पनी रहेको रिपोर्टहरु बाहिर आएका छन् । चेरीले युवा ग्राहकलाई लक्षित गर्दै बनाएको आइकार ब्रान्डमा अहिले भी-२३ प्योर ईभी र भी-२७ रेन्ज एक्सटेन्डेड अफरोड एसयूभी बिक्रीमा छन् । अब भी-२५ तेस्रो मोडलका रूपमा बजारमा थपिने भएको हो ।
बाहिर आएका स्पाइ तस्बिर अनुसार भी-२५ को इन्टेरियर भी-२३ मोडलसँग मिल्दोजुल्दो देखिन्छ । यसमा ठूलो फ्लोटिङ टचस्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, तीनवटा एसी भेन्ट र भौतिक बटनहरूको सेटअप दिइएको छ ।
डिजाइनका हिसाबले भी-२५ बाक्लो र बक्सी शैलीको मोनोकोक एसयूभी हो । यसको लम्बाइ ४६३६ एमएम, चौडाइ १९२० एमएम र उचाइ १८५५ एमएम हुनेछ । यसमा २८२० एमएम लामो ह्वीलबेस पाउन सकिने छ ।
यसको बाहिरी डिजाइन पनि भी-२३ सँग मिल्दोजुल्दो छ । गोलाकार हेडलाइट, ठूलो बम्पर, सेमी-हिडन डोर ह्यान्डल र पछाडिको ढोकामा स्टोरेज बक्स दिइएको छ । ग्राहकले १९ वा २१ इन्चका ह्वील रोज्न सक्नेछन् ।
यसको अप्रोच एङ्गल २८ डिग्री र डिपार्चर एङ्गल २४ डिग्री रहेको छ । जसले हल्का अफरोड यात्रामा सहयोग पुर्याउने अपेक्षा गर्न सकिन्छ ।
कम्पनीले यसमा १.५ लिटर पेट्रोल इन्जिन प्रयोग गर्नेछ । उक्त इन्जिनले अधिकतम पावर १५४ पीएस प्रदान गर्छ । यो इन्जिनले सिधै पाङ्ग्रामा शक्ति नपठाई ब्याट्री र विद्युतीय मोटरलाई ऊर्जा उपलब्ध गराउने रेन्ज एक्सटेन्डरको रूपमा काम गर्छ ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा दाखिल भएको रिपोर्ट अनुसार भी-२५ मा ३३.६७ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक जडान गरिएको छ । यसको प्योर ब्याट्री रेन्ज १४५ देखि १५० किलोमिटरसम्म रहने जनाइएको छ । पेट्रोल र ब्याट्री दुवैको प्रयोग गर्दा १ हजार किलोमिटर माथिको रेन्ज पाइने कम्पनीको दावी छ ।
हालसम्म चेरीले भी-२५ मा प्रयोग हुने विद्युतीय मोटरको प्राविधिक विवरण सार्वजनिक गरेको छैन ।


