काठमाडौं । नेपाली विद्युतीय कार बजारमा एसयूभी र ह्याचब्याकको दबदबा रहँदा मिनी ईभी ओझेलमा परेका छन् । सस्तो मूल्य, छरितो र सहरका लागि उपयुक्त हुँदा हुँदै पनि मिनी ईभीप्रति खासै आकर्षण बढ्न सकेको देखिँदैैन ।
पछिल्लो समय मिनीकारभन्दा केही मात्रै बढी मूल्यमै ह्याचब्याक आउन थालेपछि मिनिकार उपभोक्ताको रोजाइमा पर्न छाडेको देखिन्छ । हाल सगम्र विद्युतीय कार आयातमा मिनीको हिस्सा २ प्रतिशतभन्दा कम छ ।
गत आवमा १२ हजार ७०० युनिट बढी विद्युतीय कार आयात हुँदा केबल २३४ युनिट मात्रै मिनी ईभी आयात भएको छ । बजारमा करिब १ दर्जन ब्राण्डका मिनी ईभी उपलब्ध छन् ।
कार बजारमा मिनी ईभीलाई आफ्नो अस्तित्व जोगाउनै हम्मे हम्मे परिरहेको बेला सीमित ब्राण्डले मात्रै बजारको साख जोगाएको देखिन्छ ।
विगतमा एमजी र वुलिङ ब्राण्डका ईभीले मिनी कार बजारमा आफ्नो बलियो उपस्थिति देखाएका थिए । तर, पछिल्लो दुई वर्ष यता एउटै अर्थात केई ब्राण्डले मिनी ईभी सेग्मेन्टको खास धानेको देखिन्छ ।
गत आव २०८२/८३ मा कुल २३४ युनिट मिनी ईभी आयात भएको छ । जसमा आधा बढी अर्थात् ५१.२८ प्रतिशत हिस्सा केईको रहेको छ । गत आवमा केई इक्युट ०२ र ०४ गरी कुल १२० युनिट आयात भएको हो । यद्यपि, अघिल्लो आवको तुलनामा केईको आयात घटेको छ । अघिल्लो आवमा १५२ युनिट केईका कार नेपाल आएका थिए ।

आकर्षक मूल्य, तुलनात्मक रूपमा ठूलो साइज, धेरै रेन्ज, सर्भिसिङ सुविधा लगायतले उपभोक्ता केई ब्राण्डका ईभीमा आकर्षित भएको देखिन्छ ।
गत आवमा दोस्रो धेरै आयात हुने मिनी ईभीमा एमजी कोमेट ३९ युनिट रहेको छ । हाल एमजी कोमेट जीओ अटोमोबाइल्सले आयात गर्दै आएको छ ।
कोमेटलाई पछ्याउँदै जिनपेङको लिनबक्स तेस्रो स्थानमा छ । गत आवमा ठाकुर मोटरले ३२ युनिट लिङबक्स नेपाल ल्याएको छ ।
चौथो स्थानमा हेनरी भोल्टस् रहेको छ । एस क्यूब इन्टरप्राइजेजले १ वर्षमा ३० युनिट भोल्टस नेपाल भित्र्याएको छ ।
यी बाहेक अन्य ब्राण्डको आयात १० युनिटभन्दा कम छ । गत आवमा महिन्द्रा ईटुओ ६ युनिट, बीएडब्लू ब्रम्बी ४ युनिट, बुलिङ १ युनिट र अन्य ब्राण्डका २ युनिट मिनी ईभी आयात भएका छन् ।
कस्तो छ केई इक्युट गाडी
नेपालमा सर्वाधिक बिक्री हुने मिनी ईभी केई ईक्युटको दुई मोडल बिक्री हुँदै आएको छ । लक्ष्मी ई मोबिलिटी र जीओ टोमोबाइल्सले केई इक्युट ०२ र ०४ मोडल बिक्री गर्दै आएका छन् ।
यी दुवै कारमा ४० किलोवाट क्षमताको मोटर छ । ब्याट्री भने फरक छ । इक्यु ०२ मा २०.८ किलोवाट आवर र इक्युट ०४ मा यसमा २८.०८ किलोवाट आवरको ब्याट्री छ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा ३०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

साइजमा भने इक्युट ०४ ठूलो छ । इक्युट ०२ को लम्बाइ ३३४५ एमएम, चौडाइ १६८५ एमएम र उचाइ १६०५ एमएम छ । यसमा २१५० एमएमको ह्वीलबेस छ । त्यस्तै, इक्युट ०४ को लम्बाइ ३७२० एमएम, चौडाइ १७०० एमएम र उचाइ १६०८ एमएम छ ।यसमा २५२० एमएम लामो ह्वीलबेस छ ।
इक्युट ०२ को मूल्य २२ लाख ९६ हजार र इक्युट ०४ को २५ लाख ९६ हजार रुपैयाँ छ । इक्यूटमा फ्रन्ट फेसियामा दिइएको हकआई डिजाइनको एलईडी हेडलाइट, फ्लस डोर ह्याण्डल र पछाडि एरोडाइनामिक टेलविङ दिइएको छ ।
इक्युट ०२ को इन्टेरियरमा १०.२५ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रीन र ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर छ । सेग्मेन्ट फस्ट ३६० डीग्री क्यामरा, कोलुम सिफ्ट गियर सेलेक्टर, ४ वटा हाइफाई स्टेरियो स्पीकर, एयर कन्डिसन, पुस बटम स्टार्ट, टुस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील छ ।
केई इक्युट ०४ मा ६.७ इन्चको एलसीडी टचस्क्रीन, ६.७ इन्चकै ड्राइभर इन्फर्मेसन डिस्प्ले, स्टेरिङ कोलुममा दिइएको गियर सिफ्टर, मल्टिफङ्सनल स्टेरिङ ह्वील पाउन सकिन्छ ।
इक्यूट ०२ मा दुई एयरब्याग, हील असिस्ट कन्ट्रोल, आइसोफिक्स चाइल्ड सिट एन्कर, रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा छ ।
केई इक्युट ०४ मा अगाडि दुई एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अगाडि र पछाडि नै दिइएको पार्किङ सेन्सर, एबीएस, ईएसपी, ईबीडी, डीसीएस, ३६० डिग्री क्यामेरा र ट्रयाक्सन कन्ट्रोल यसमा पाउन सकिन्छ । साथै, ६ वे म्यानुअल एड्जस्टेबल ड्राइभर सिट, ६ वटा स्पीकर, स्पोट्स र इकनोमिक ड्राइभिङ मोड पाउन सकिन्छ ।


