जेडी पावर अध्ययन : पेट्रोलभन्दा ईभीका मालिक बढी सन्तुष्ट

काठमाडौं । विद्युतीय सवारी साधन प्रति उपभोक्ताको आकर्षण र सन्तुष्टि अझ बलियो बन्दै गएको नयाँ अध्ययनले देखाएको छ । अमेरिकी अनुसन्धान संस्था जेडी पावरले गरेको सन् २०२६ ‘अटोमोटिभ पर्फमेन्स, एक्जिक्युसन एन्ड लेआउट’ अध्ययन अनुसार नयाँ गाडी खरिदकर्तामध्ये ईभी प्रयोगकर्ताहरू आफ्नो सवारीबाट सबैभन्दा बढी खुसी देखिएका छन् ।

यस अध्ययनमा ७८ हजार ५१४ जना सन् २०२६ मोडल वर्षका सवारीधनीलाई समेटेर गरिएको अध्ययनमा ईभीले १ हजार अंकको स्केलमा औसत ९१० अंक प्राप्त गरेको छ । तुलनात्मक रूपमा पेट्रोल, डिजेल तथा हाइब्रिडसहितका आन्तरिक दहन इन्जिन (आईसीई) सवारीले ८५० अंक मात्रै पाएका छन् ।

अध्ययन अनुसार ईभीले लगभग सबै प्रमुख सूचकमा आईसीई सवारीलाई उछिनेको छ । विशेषगरी पावरट्रेन सन्तुष्टिमा ईभीले पेट्रोल तथा डिजेल गाडीभन्दा १०९ अंक बढी स्कोर पाएको छ । तीव्र एक्सेलेरेसन, शान्त संचालन, सहज ड्राइभिङ अनुभव र कम संचालन खर्चको कारण ईभीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

गाडीमा प्रवेश तथा बाहिरिने सहजता, ड्राइभिङ कम्फर्ट, इन्फोटेनमेन्ट प्रणाली, इन्टेरियर गुणस्तर, स्टार्टअप अनुभव तथा ऊर्जा दक्षताजस्ता क्षेत्रमा पनि ईभीले उच्च अंक हासिल गरेको अध्ययनमा उल्लेख छ ।

अर्को रोचक तथ्य के छ भने ईभीको सन्तुष्टि स्तर गत वर्षको तुलनामा सबैभन्दा धेरै वृद्धि भएको छ । ईभीको स्कोर एक वर्षमै २२ अंकले बढेको हो । चार्जिङ पूर्वाधारमा सुधार, लामो रेन्ज, उन्नत ब्याट्री प्रविधि तथा प्रयोगमैत्री फिचरहरूले उपभोक्ता अनुभवलाई थप सकारात्मक बनाएको विश्लेषण गरिएको छ ।

अध्ययनले विगतका अन्य अनुसन्धानलाई पनि पुष्टि गरेको छ । जसले अधिकांश ईभी प्रयोगकर्ताहरू पुनः पेट्रोल गाडीमा फर्किन नचाहने देखाएको छ ।

हालै भएको अर्को सर्वेक्षणले पनि ९० प्रतिशत ईभी मालिकले आफ्नो अर्को गाडी पनि ईभी हुने बताएका थिए । ७३ प्रतिशतले आफ्नो परिवारमा सधैं कम्तीमा एउटा ईभी रहने बताएका छन् ।

विश्वभर ईभीको लोकप्रियता तीव्र गतिमा बढिरहेका बेला जेडी पावरको यो अध्ययनले विद्युतीय सवारी केवल वातावरणमैत्री विकल्प मात्र नभई उपभोक्ताको रोजाइ र सन्तुष्टिको केन्द्र बन्दै गएको संकेत गरेको छ ।


Back_to_top