चेरीले ल्यायो अर्को शानदार क्रसओभर, रेन्ज ६०० किलोमिटर

काठमाडौं । चेरी समूहको विद्युतीय ब्राण्ड फुलविनले नयाँ इलेक्ट्रीक एसयूभी ‘टी-७’को चीनमा प्रि-सेल सुरु गरेको छ । कम्पनीले सिंगल चार्जमा ६०० किलोमिटर सीएलटीसी रेन्ज भएको फुलविन टी-७ बजारमा ल्याएको हो ।

चीनमा केबल १ लाख ९ हजार ९०० युआन मूल्य राखेर यसको प्रि सेल्स सुरु भएको हो । चेरीले यसअघि विभिन्न अन्तर्राष्ट्रिय बजारमा ‘लेपास एल-६’ नामबाट बिक्री गर्दै आएको मोडललाई नै फुलविन टी-७ नामबाट ल्याएको हो ।

चीनमा फुलविन टी-७ तीन भेरियन्टमा उपलब्ध हुनेछ । यसमा ६५.०५ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । अगाडिको एक्सलमा जडान गरिएको इलेक्ट्रीक मोटरले १७८ किलोवाट पावर प्रदान गर्छ । यसमा हिट पम्प र इलेक्ट्रिक पीटीसी हिटर पनि उपलब्ध छ ।

फुलविन टी-७को लम्बाइ ४५७० एमएम, चौडाइ १८५२ एमएम र उचाइ १६९४ एमएम छ । यसमा २७०० एमएम लामो ह्‌वीलबेस पाउन सकिन्छ । यसको ड्र्याग कोइफिसियन्ट ०.२८६ सीडी मात्रै छ ।

इन्टेरियरमा १५.६ इन्चको फ्लोटिङ इन्फोटेनमेन्ट स्क्रिन छ । अगाडिका सिटमा तीन तहको हिटिङ तथा भेन्टिलेसन सुविधा छ भने दुवै अगाडिका सिटलाई पूर्ण रूपमा फोल्ड गरेर बेडको रूपमा प्रयोग गर्न सकिने छ ।

चेरीले नयाँ एसयूभीमा ९ वटा एयरब्याग दिइएको छ । यसको बडीमा ८० प्रतिशत हाई-स्ट्रेन्थ स्टिल प्रयोग गरिएको चेरीको दाबी छ । टप भेरियन्टमा ३ मिलिमिटर-वेभ राडार, ७ वटा हाई-रेजोलुसन क्यामेरा र १२ वटा अल्ट्रासोनिक सेन्सर छन् । यसले इन्टेलिजेन्ट क्रुज कन्ट्रोल र अटोनोमस पार्किङजस्ता एड्भान्स ड्राइभिङ फिचर पनि प्रदान गर्छ ।


Back_to_top