गाडी नदेखाई ७०० बुकिङ : के ईभी बजारको समीकरण फेरिँदै छ ?

एआई निर्मित तस्बिर ।

काठमाडौं । ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ समापन भएको छ । आयोजकले दाबी गर्ने संख्या जे जस्तो भए पनि अटो शोको इतिहासमै धेरै मानिसले यसपटक भ्रमण गरेभन्दा फरक पर्दैन ।

मोबिलीटी एक्स्पोमा सहभागि धेरै ब्राण्डले नयाँ उत्पादन सार्वजनिक गरे । मूल्यका हिसाबले सस्ता गाडीमा उपभोक्ताको आकर्षण स्वभावकै हो । जहाँ पन्च ईभी, चेरी क्यू, वुलिङ मिनी र ढिलागरी उपलब्ध भएको आरफक्स टी१ जस्ता मोडलले उपभोक्ताको ध्यान खिच्नु स्वाभाविकै थियो । यी गाडी उपभोक्ताले हेरे अनि बुकिङ गरे ।

तर, यहाँ अनौठो घटना किया सिरोस ईभीमा भयो । न गाडी उपलब्ध थियो, न त फिचरको डिटेल नै । कन्टिनेन्टल ट्रेडिङले ३५ लाख ९९ हजार मूल्य घोषणा गरेको थियो । बिक्रेता कम्पनीका अनुसार ४ दिनमा गाडी हेर्दै नहेरी ७०० युनिट बुकिङ भयो । यसले बजारमा धेरैलाई अचम्ममा पारेको छ ।

विगतमा पनि कम्पनीहरूले घोषणा गरे अनुसारको बिक्री एक वर्षमा पनि नभेट्टाएको हामीले देखेकै छौं । तर, मूल्यकै कारण किया सिरोस धेरै बुकिङ भएको मान्न सकिँदैन । कियाले ल्याउने इन्ट्री मोडल सिरोस ईभीमा धेरै फिचर छैनन् । त्यसका बाबजुद यत्रो संख्यामा बुकिङ के आधारमा भयो होला । यसलाई सरल भाषामा बुझ्न कोशिस गरौं ।

यसलाई चिनियाँ ईभीको एकाधिकार सकिँदै जान लागेको रूपमा पनि बुझ्न सकिन्छ । यदि, कुनै ब्राण्डले ल्याएको ‘इन्डिया मेड’ ईभी यो संख्यामा बुकिङ हुन्छ भने पक्कै अनौठो घटना हो । जबकि भारतमा उत्पादन भएको सिरोस ईभी भारतमै अहिलेसम्म एक हजार युनिट बिक्री पूरा भएको छैन ।

अर्को कुरा यो बुकिङले नेपालमा किया ब्राण्डको सम्भावना जीवित नै छ भन्ने देखाउँछ । विगतमा कियाले सोल ईभी, निरो ईभी, ईभी सिक्स, ईभी नाइन जस्ता मोडल ल्याएपनि बजार जमाउन सकेको थिएन । उसलाई अहिले पनि बजारमा पेट्रोलियम पदार्थबाट चल्ने कारले नै बचाइराखेको छ ।

टाटा, महिन्द्रा, हुन्डाई र किया जस्ता ब्राण्डले भारतमा बनाएका ईभीले चिनियाँ उत्पादनसँग कडा प्रतिस्पर्धा गर्ने संकेत सिरोसको बुकिङले देखाएको छ । प्रोडक्ट नहेरी ७०० बढी बुकिङ हुनुले धेरै अर्थ राख्छ । यसले उपभोक्ता केबल गाडी होइन, ब्रान्ड र प्रोडक्ट क्वालिटी पनि खोज्छन् भन्ने पनि देखाएको छ ।

टाटाले पनि नाइमा मोबिलिटी एक्स्पोमा ७०० भन्दाबढी बुकिङ लिएको जनाएको छ । जहाँ महिन्द्रा र हुन्डाईको स्टलमा पनि राम्रै संख्यामा गाडी बुकिङ गर्नेहरू भेटिएका थिए । यसले भारतमा बन्ने ईभीप्रति बजारको धारणा फेरिँदै गएको भान हुन्थ्यो ।

यहाँ बुझ्नु पर्ने अर्को कुरा बुकिङ र बिक्री फरक हुन्छ भन्ने हो । लामो समयदेखि अटोमोबाइल क्षेत्रमा आबद्ध मानिसहरू अटो शोहरूमा हुने बुकिङ ३० प्रतिशत हाराहारी मात्रै बिक्रीमा परिणत हुने बताउँछन् ।

कुनै पनि गाडीको सफलता यसको मूल्य, स्पेसिफिकेसन, रेन्ज, डेलिभरी समय, चार्जिङ क्षमता, स्पेयर पाट्र्स, सर्भिस र सबैभन्दा महत्वपूर्ण चाडपर्वको समयमा बुकिङ गरेका ग्राहकलाई बिक्रेताले गाडी दिन सक्छन् वा सक्दैनन् भन्ने कुराले निर्धारण गर्छ ।

चिनियाँ उत्पादन एकपछि अर्को नयाँ र बलियो प्रोडक्ट आएका छन् । खासगरी बीवाइडी, एमजी, चेरी, लिपमोटर लगायतका ब्राण्डले पनि बलियो उपस्थिति जनाए र बुकिङ पाए । यसपटकको एक्स्पोमा प्रोटोन इमास ब्राण्ड, ग्रेटवाल मोटर्स र वुलिङ ब्राण्डले पनि धेरैको ध्यान खिच्यो ।

बीएआइसीदेखि आइकारसम्मका ब्राण्डले लाइफ स्टाइल भेहिकल खोज्नेलाई आफूतिर तान्यो भने भारतमा उत्पादन भएको एमजीका कारमा पनि उपभोक्ताको बलियो नजर पर्यो ।

समग्रमा नाइमा मोबिलिटी एक्स्पो भव्यताको साथ सम्पन्न भयो । अघिल्लो वर्ष जस्तै बाजागाज र झाँकी सहित एक्स्पोको समापन गरियो । अधिकांश कार बिक्रेता खुसी नै देखिए । चाडपर्वको मुखमै पाएको बुकिङले बिक्रेताहरूको अनुहारमा चमक आउनु स्वभाविक थियो ।


Back_to_top