काठमाडौं । जेएसडब्ल्यू एमजी इन्डियाले अगस्ट २६ तारिखमा ‘हेक्टर टोमाहक’ सार्वजनिक गर्ने भएको छ । कम्पनीले अहिले भारतको विभिन्न स्थानमा यसको परीक्षण गरिरहेको देखिएको हो ।
कम्पनीले नयाँ एसयूभीको नाम हेक्टर टोमाहक रहने जनाएको छ । साथै, यसको बाहिरी डिजाइनबारे विवरणहरू सार्वजनिक गरेको हो । यो एमजीको एड्भान्स्ड ड्राइभ आर्किटेक्चर प्लेटफर्म टेक्नोलोजी (एड्याप्ट) मा आधारित पहिलो मोडल हो ।
हेक्टर टोमाहकको अगाडिको भाग निकै मोर्डन लाग्छ । एलईडी हेडलाइट र डे टाइम रनिङ लाइट निकै आकर्षक डिजाइनमा देखिन्छ । बीचमा एमजीको लोगो राखिएको छ । विद्युतीय गाडी भएकाले अगाडिको भागमा परम्परागत ग्रिल छैन ।
परीक्षणमा देखिएको गाडी हरियो कलरमा देख्न सकिन्छ । कालो छाना र रुफरेलले डुअल कलरमा आउने संकेत गरेको छ । क्रोमसहितको डोर ह्याण्डल, ढोकामा पनि क्रोम देखिएको छ ।
कालो बडी क्ल्याडिङ, फराकिलो ह्वील आर्च र दुई कलरमा सजिएको ठूलो एलोय ह्वीलले यसलाई गज्जपको एसयूभी देखाएको छ ।
हेक्टर टोमाहक नेपालमा बिक्री हुँदै आएको वुलिङ एक्सियनमा आधारित रहेको अनुमान गरिएको छ । तर, कम्पनीले त्यसको पूरै विवरण भने सार्वजनिक गरिसकेको छैन ।
यदि, एक्सियन एसयूभीकै जस्तो साइज र फिचरमा आउने हो भने यसको लम्बाइ ४.७ मिटर हुनेछ । हेक्टर टोमाहकमा इलेक्ट्रीक टेलगेट, लेदर सिट, अगाडि हिटेड र भ्यान्टिलेटेड सिट, १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्फर्मेसन डिस्प्ले रहने छ ।
कम्पनीले यसमा ५० वाटको वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, ६ वटा एयरब्याग र एडास लेभल टु दिएर ल्याउने छ ।
वुलिङ एक्सियनमा रहेको ६९.२ किलोवाट आवरको एलएफपी ब्याट्री र १५० किलोवाटको मोटरमा हेक्टर टोमाहक आउने अनुमान गरिएको छ ।


