बजाज पल्सरका सबै मोडलमा अब टीएफटी डिस्प्ले

काठमाडौं । बजाज अटोले आफ्नो सम्पूर्ण पल्सर मोडलहरूमा टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर दिने भएको छ ।

अहिले एलसीडी तथा सेमी डिजिटल कन्सोल प्रयोग गर्दै आएका पल्सर मोडलहरूमा कम्पनीले चरणबद्ध रूपमा आधुनिक टीएफटी डिस्प्ले ल्याउने योजना बनाएको हो ।

हालै सार्वजनिक गरिएको २०२६ बजाज पल्सर एन १६० एसएस यस परिवर्तनको सुरूवात मोडल बनेको छ । यस लगतै अब टीएफटी प्रयोग गरिएका अन्य नयाँ मोडलहरू पनि बजारमा आउन थाल्ने रिपोर्टमा उल्लेख छ ।

बजाजको आधुनिक भोल्युम सेग्मेन्टमा टीएफटी ड्यासबोर्ड प्राप्त गर्ने एन १६० एसएस पहिलो मोटरसाइकल बनेको छ । अब छिट्टै सार्वजनिक हुने तयारीमा रहेको नेक्स्ट जेनेरेसन पल्सर १२५ सीसी क्लासिकमा समेत यस्तै डिस्प्ले आउने भएको हो । साथै, अन्य सबै पल्सर सिरिजमा यो सिस्टम पाइने छ ।

यो नयाँ डिस्प्ले ५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर सिस्टम हो । यसमा गुगल म्याप नेभिगेसन, स्मार्टफोन कनेक्टिभिटी तथा आधुनिक डिजिटल इन्टरफेस उपलब्ध छ । यसले हालका सस्तो पल्सरमा प्रयोग हुँदै आएको साधारण एलसीडी तथा सेमी डिजिटल कन्सोलको तुलनामा ठूलो अपग्रेड प्रस्तुत गर्छ ।

यद्यपि, नयाँ टीएफटी मोडलसँगै पुरानो मोडलहरू पनि उपलब्ध भइराख्ने छन् ।


Back_to_top