काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड चेरी नेपालमा नेटवर्क विस्तारमा आक्रमक बन्दै गएको छ ।
नेपालका लागि चेरीको आधिकारिक बिक्रेता पायोनियर अटोकर्पले आधिकारिक नेटवर्क विस्तार गर्ने उद्देश्यले देशैभरका मुख्य शहरहरूमा डिलरसिप आह्वान गरेको हो ।
कम्पनीले एकैसाथ देशभरका १७ ठाउँमा डिलर माग गरेको छ । कम्पनीले काठमाडौं उपत्यकासहित पूर्वदेखि पश्चिमसम्मका ठूला शहरमा डिलर संजाल विस्तार गर्ने योजना बनाएको हो ।
कम्पनीले काठमाडौं उपत्यकामा थप ५ वटा डिलरसिप मागेको छ । उपत्यकामा कोटेश्वर, महाराजगञ्ज, कलंकी, ललितपुर र भक्तपुरमा डिलर विस्तार गर्ने भएको हो ।
त्यस्तै, कोशीको बिर्तामोड, विराटनगर, इटहरी, मधेशको जनकपुर र वीरगञ्जमा डिलर माग गरेको हो । त्यस्तै, गण्डकीको पोखरा, लुम्बिनीको नारायणगढ, बुटवल, भैरहवा र दाङ, कर्णालीको नेपालगंज र सुदूरपश्चिमको धनगढीमा डिलर राख्ने भएको हो ।
चेरी ब्राण्डका आधुनिक, प्रविधियुक्त विद्युतीय गाडी नेपाली बजारमा पहुँचयोग्य बनाउन यो कदम चालिएको कम्पनीले जनाएको छ ।
कम्पनीले हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा चेरीको नयाँ क्रसओभर एसयूभी चेरी क्यू सार्वजनिक गरेको थियो । जुन एक्स्पोमा मुख्य आकर्षण समेत बनेको थियो ।
कम्पनीले नाइमामा चेरी क्यूको सुरूआती भेरियन्ट ३१ लाख रुपैयाँमै उपलब्ध गराएको छ । जुन भ्यालु फर मनि प्रोडक्ट बनेको छ ।
चेरी क्यूमा यसमा ९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । जसले ११५ एनएम टर्क प्रदान गर्छ । यसमा ४१.३ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ । यसले एकपटकको फुलचार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।


