आन्दोलनका घाइते र सहिद परिवारले सवारी किन्दा पूरै कर छुट पाउने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइते सहिद परिवारलाई स्वरोजगार प्रयोजनका लागि सवारी साधन खरिद गर्दा शतप्रतिशत कर छुट दिने भएको छ ।

अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त निर्णय बारे जानकारी दिएको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार अब आन्दोलनका घाइते र सहिद परिवारले स्वरोजगार बन्न १५ लाख मूल्यसम्मका पेट्रोल/डिजेल वा कारोबार मूल्य २० लाख रुपैयाँसम्म भएका विद्युतीय सवारीसाधन खरिद गर्दा आयातमा लाग्ने कर र महसुल पूर्णरूपमा छुट हुने भएको छ ।

यद्यपि, भन्सार उपशीर्षक ८७०३.१० अन्तर्गतका हिउँमा यात्रा गर्न बनेका गाडी, गल्फ कार र यस्तै गाडी तथा भन्सार शीर्षक ८७.०३ अन्तर्गतका स्टेसन वागन र रेसिङ कार तथा विभिन्न उपशीर्षकमा पर्ने अनएसेम्बल्ड अवस्थाका सवारीसाधन खरिदमा भने छुट नपाउने अर्थ मन्त्रालयले स्पष्ट पारेको छ ।

‘नेपाल सरकारबाट स्वीकृत एकीकृत प्याकेज बमोजिम जेनजी आन्दोलनका सहिद परिवार, अति गम्भीर तथा गम्भीर घाइते परिचयपत्र बाहकहरूले स्वरोजगार प्रयोजनका लागि भन्सार उपशीर्षक ८७०३.१० अन्तर्गतका मूलतः हिउँमा यात्रा गर्नका लागि बनेका गाडीहरू, गल्फ कार र यस्तै गाडी तथा भन्सार शीर्षक ८७.०३ अन्तर्गतका स्टेशन वागन र रेसिङ कार तथा विभिन्न उपशीर्षकमा पर्ने अनएसेम्बल्ड अवस्थाका सवारी साधन बाहेक भन्सार शीर्षक ८७.०३ मा पर्ने कारोबार मूल्य पन्ध्र लाख रुपैयाँसम्म भएका पेट्रोल वा डिजेलबाट सञ्चालन हुने सवारी साधन वा कारोबार मूल्य बिस लाख रुपैयाँसम्म भएका विद्युतीय सवारी साधनको पैठारीमा लाग्ने कर तथा महसुल पूर्ण रूपमा छुट प्रदान गर्ने,’ राजपत्रमा प्रकाशित सूचनामा भनिएको छ ।

यो छुट सुविधा पाउन पाउन जेनजी आन्दोलनका सहिद परिवार, अतिगम्भीर तथा गम्भीर घाइते भनी खुलेको परिचयपत्र आवश्यक पर्ने मन्त्रालयले जनाएको छ । साथै, यो छुट सुविधा चालु आर्थिक वर्ष २०८३/८४ का लागि मात्र मान्य हुनेछ ।


Back_to_top