काठमाडौं । भारतीय अटोमोबाइल उत्पादक महिन्द्राले आफ्नो चर्चित प्रिमियम इलेक्ट्रीक एसयूभी एक्सईभी नाइन एस ६ सिट अप्सनमा पनि ल्याएको छ ।
कम्पनीले भारतीय बजारमा ६ सिटको नयाँ क्याप्टेन सिट मोडल एक्सईभी नाइन एस सार्वजनिक गरेको हो । कम्पनीले क्याप्टेन सिट मोडल ३ भेरियन्टमा उपलब्ध गराएको छ । जसको सुरुआती मूल्य २५ लाख २५ हजार रुपैयाँ तोकिएको छ । यो ७ सिटे भेरियन्टको तुलनामा २५ भारु बढी हो ।
एक्सईभी नाइन एस यसअघि ७ सिटे मोडल मात्र बिक्री हुँदै आएको थियो । भारतीय बजारमा ६ र ७ सिटे दुवै विकल्पमा उपलब्ध हुने एक्सईभी नाइन एस यो सेग्मेन्टको दोस्रो ईभी बनेको छ। यसअघि किआ केरेन्स क्लाभिस ईभी मात्रै ६ र ७ सिट विकल्पमा उपलब्ध थियो ।
नयाँ ६ सिटे एक्सईभी नाइन एसमा २+२+२ को थ्री रो सिट रहेको छ । महिन्द्राले यसको दोस्रो लाइनको साधारण बेन्च सिटलाई विस्थापित गरी व्यक्तिगत ‘क्याप्टेन सिट’ राखेको हो । यी सिटहरूमा अलग अलग आर्मरेस्ट दिइएको छ, जसलाई सजिलै माथि फर्काउन सकिन्छ।

दुई क्याप्टेन सिटको बीचमा खाली बाटो उपलब्ध भएकाले तेस्रो लाइनमा छिर्न र निस्कन थप सहज हुनेछ। साथै दोस्रो र तेस्रो लाइनका यात्रुहरूका लागि पर्याप्त लेगरुम प्राप्त हुनेछ। सिट संरचना बाहेक अरु सबै डिजाइन, फिचर र सुविधा ७ सिटेको जस्तै छन् ।
गाडीमा पछाडिको एसी भेन्ट, दुईवटा ६५ वाटका फास्ट यूएसबी चार्जिङ पोर्ट, विन्डो सनसेड, लाउन्ज डेस्क, स्न्याक ट्रे र सेकेण्ड रो भेन्टिलेसन जस्ता सुविधाहरू कायम राखिएका छन्।
महिन्द्राको इंग्लो आर्किटेक्चरमा बनेको एक्सईभी नाइन एसमा पछाडि एउटा मात्र रियर माउण्टेड मोटर रहेको छ । जसले ३८० न्युटक टर्क उत्पन्न गर्छ।
एक्सईभी नाइन एस दुई ब्याट्र अप्सनमा उपलब्ध छ । ७० किलोवाट आवर ब्याट्री प्याकले ६०० किमी र ७९ किलोवाट आवर ब्याट्री प्याकले ६७९ किमीसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
यसको ७९ किलोवाट आवर भेरियन्टले १८० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । जसबाट २० देखि ८० प्रतिशत ब्याट्री केवल २० मिनेटमा चार्ज हुन्छ।
एक्सईभी नाइन एसको लम्बाइ ४,७३७ एमएम, चौडाइ १,९०० एमएम र उचाइ १,७४७ एमएम छ । यसमा २,७६२ एमएमको ह्वीलबेस पाउन सकिन्छ । यो गाडीको ग्राउण्ड क्लियरेन्स २०५ एमएम छ । यसमा ५२७ लिटरको ट्रंक र १५० लिटरको फ्रन्क उपलब्ध छ ।
यसको क्याबिनमा तीनवटा १२.३ इन्चका स्क्रीन, फाइभ जी कनेक्टिभिटी, १६ स्पिकर हार्मन कार्डन अडियो सिस्टम, पानारोमि स्काइरूफ, ३६० डिग्री क्यामेरा र भिजनएक्स अगमेन्टेड रियालिटी हेड अप डिस्प्ले जस्ता अत्याधुनिक सुविधा उपलब्ध छन् । सुरक्षाका लागि लेभल २ एडास, ६ वटा एयरब्याग र पार्क असिस्ट जस्ता प्रविधिहरू दिइएका छन् ।
एक्सईभी नाइन एस नेपालमा हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा लन्च भएको थियो । भारतीय बजारमा उपलब्ध नयाँ ६ सिटे भेरियन्ट सम्भवतः नेपाली बजारमा पनि चाँडै आउने छ ।


