ओसन सिरिजमा नयाँ मोडल ल्याउँदै बीवाइडी, छिट्टै बजारमा आउने

काठमाडौं । चिनियाँ विद्युतीय सवारी उत्पादक बीवाइडीले आफ्नो ‘ओसन’ सिरिजमा पहिलो मल्टी पर्पोज भेहिकल (एमपीभी) ल्याउने भएको छ । कम्पनीले सन् २०२६ को अन्तिममा यसलाई बजारमा ल्याउने अनुमान सुरु भएको हो ।

बीवाइडी ओसन डिभिजनका बिक्री प्रमुख झाङ झुओले एक अन्तर्वार्तामा नयाँ एमपीभी बजारमा उपलब्ध ‘अन्यभन्दा फरक र विशेष उत्पादन’ हुने बताएका छन् । नयाँ एमपीभीको बारेमा बताएपनि त्यसको नाम, प्राविधिक विवरण, मूल्य वा अन्य टेक्नीकल डिटेल भने उनले खुलाएनन् ।

बीवाइडीले गत अप्रिलमा आयोजित बेइजिङ अटो शोमा ‘ओसन भी’ कन्सेप्ट एमपीभी सार्वजनिक गरेको थियो । उक्त कन्सेप्टमा अफरोड क्षमता, क्याम्पिङ र इन कार मनोरञ्जनलाई विशेष प्राथमिकता दिइएको थियो । भौतिक बटनरहित क्याबिन, साइडतर्फ सर्ने सेन्टर डिस्प्ले तथा चलचित्र हेर्ने क्रममा ड्यासबोर्डबाट ठूलो स्क्रिन बाहिर आउने जस्ता फिचर त्यसमा थिए ।

क्याम्पिङ मोडमा सिटलाई आमनेसामने राख्न वा पूर्ण रूपमा फोल्ड गरेर बेड बनाउन सकिने डिजाइन पनि प्रस्तुत गरिएको थियो । तर, आउन लागेको नयाँ एमपीभी ओसन भी कन्सेप्टकै उत्पादन संस्करण हो वा होइन भन्ने पुष्टि भएको छैन ।

बीवाइडीले विशेषगरी फरक डिजाइन, पारिवारिक प्रयोग, मनोरञ्जन र आउटडोर लाइफस्टाइललाई जोडेर एमपीभी बजारमा नयाँ विकल्प ल्याउने तयारी गरेको अनुमान गरिएको छ । सम्भवत नयाँ एमपीभीको टेक्नीकल विवरणहरु अर्को महिनाबाट बाहिर आउने छन् ।


Back_to_top