काठमाडौं । नयाँ २० बस थपिएसँगै साझाको बस संख्या ७१ पुगेको छ । सोमबारबाट २० नयाँ सिटी बस सञ्चालनमा आएसँगै साझाले बस संख्या बढेर ७१ पुगेको हो ।
साझाले ल्याएका २० वटा नयाँ बसमध्ये अर्को ८ ओटा बस नयाँ बसपार्क–लगनखेल हुँदै सोहीबाटो फर्किने छ । त्यस्तै ६ वटा बस नयाँ बसपार्क–सूर्य विनायक रुटमा चल्नेछन् भने थप ६ वटा बस नयाँबसपार्क–कमल विनायक रुटमा चल्ने साझा यातायातले जनाएको छ ।
यस अघि भक्तपुरमा चल्दै आएका ७ ओटा बसले नयाँ रुट पाएका छन् । यी बसहरु त्रिभुवनपार्क–पाटन हस्पिटल हँुदै सोही बाटो फर्किनेछ ।
त्यसैगरी अन्य पुराना दुई बसलाई लगनखेल–रत्नपार्क हुँदै दक्षिणकालीन जाने र सोही रुट हुँदै फर्किने व्यवस्था मिलाइएको छ । साझाले ल्याएका २० नयाँ बस युरो ४ मापदण्डका छन् बसको सिट क्षमता ४० रहेको छ ।
नयाँ बसमा एलइडी टिभी, सुरक्षाका लागि सिसी क्यामरलगायत सुविधा रहेका छन् । साझाले यी बसहरुमा यात्रागर्दा बस भाडा नगद नभई कार्डबाट तिर्न सकिने व्यवस्था गरेको छ ।
साझाले काठमाडौं उपत्यका बाहेक लोमो दूरीमा समेत बस सञ्चालन गर्दैै आएको छ । साझा यातायातमा काठमाडौं र ललितपुर महानगरपालिकाले समेत सेयर लगानी गरेका छन् ।

