देखियो एक्सपेङको नयाँ एसयूभी, रेन्ज ६६० किलोमिटरसम्म

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता एक्सपेङले आफ्नो मोना सिरिज अन्तर्गत नयाँ इलेक्ट्रीक एसयूभी मोना एल ०५ परीक्षणको क्रममा देखिएको छ । कम्पनीले यसको ग्लोबल लन्चअघि चीनका विभिन्न स्थानमा परीक्षण गरिरहेको तस्बिरहरू बाहिर आएका हुन् ।

मोना एल ०५ एक्सपेङको ठूलै साइजको एसयूभी हो । सम्भवतः यसको लम्बाइ ४८७० एमएम, चौडाइ १९३० एमएम र उचाइ १६३६ एमएम रहनने छ । ५ सिट क्षमताको एक्सपेङ मोना एल०५ एसयूभीमा २९४० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

एक्सपेङले अहिलेसम्म मोना सिरिजमा एम०३ सेडान र एल०३ क्रसओभर बजारमा ल्याइसकको छ । अब तेस्रो मोडलका रूपमा एल ०५ आउन लागेको हो ।

नेपालमा अहिलेसम्म मोना सिरिजका कुनै पनि मोडल उपलब्ध भएको छैन । सीजी मोटर्सले बिक्री वितरण गर्ने एक्सपेङ ब्राण्डसँग अहिलेसम्म बजारमा संख्यात्मक बिक्री गर्ने मोडल जी ६ मात्रै छ । यस्तोमा मोना सिरिज अन्तर्राष्ट्रिय बजारमा जाने हो भने नेपाल पनि आउने सम्भावना रहेको छ ।

मोना एल ०५ एसयूभीको अगाडि क्लोजअफ ग्रिल पाउन सकिन्छ । वाई-आकारमा दिइएको हेडलाइट, स्लोपिङ बोनट, सेमी हिडन डोर ह्याण्डल, फ्लोटिङ रूफ र सिंगल टेललाइट प्रयोग गरिएको छ । यसमा २० इन्चको ह्वील, पछाडितर्फ प्राइभेसी ग्लास र अगाडिको फेण्डरमा ब्लाइण्ड-स्पट मोनिटरिङ क्यामेरा राखिएको छ ।

इन्टेरियर भने मिनिमलिस्ट डिजाइनमा आधारित छ । ड्यासबोर्डको बीचमा ठूलो डिस्प्ले, दुई स्पोक स्टेयरिङ, वायरलेस फोन चार्जर, दुई कप होल्डर र पर्याप्त स्टोरेज स्पेस पाउन सकिने छ ।

मोना एल०५ प्योर ईभी र ईआरईभी दुवै पावरट्रेनमा आउनेछ । बीईभी संस्करणमा रियर ह्वील ड्राइभ १८३ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिनेछ । यसमा ७१.१ किलोवाट आवरको एलएफपी ब्याट्री पाउन सकिन्छ । यसको सीएलटीसी रेन्ज ६१५ देखि ६६० किलोमिटरसम्म रहने बताइएको छ ।

त्यस्तै, ईआरईभी संस्करणमा पनि १८३ किलोवाटकै इलेक्ट्रीक मोटर रहने छ । यसमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन पाउन सकिन्छ । मोना एल०५ को हाइब्रिड मोडलमा ३७.२ किलोवाट आवरको एलएफपी ब्याट्री दिइनेछ ।

एक्सपेङले पछिल्लो समय मोना सिरिजलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने रणनीति अघि सारेको छ । त्यसैले एल०५ चीनपछि विश्व बजारमा पुग्ने सम्भावना उच्च छ । यदि, राइट ह्याड ड्राइभ बजारमा यो एसयूभी जान्छ भने पक्कै नेपाल आउने छ ।


Back_to_top