साझा यातायातमा डिजिटल टिकेटिङ सुरू, भाडा तिर्दा पुरस्कार पाइने

काठमाडौं । साझा यातायातले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउँदै ‘डिजिटल टिकटिङ तथा कमाण्ड एण्ड कन्ट्रोल सेन्टर’ संचालनमा ल्याएको छ ।

साझाले सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित यो डिजिटल प्रणाली लागू गरेको हो ।

गत वैशाखदेखि निरन्तर परीक्षण र मूल्यांकन सम्पन्न गरी असोज १ गतेदेखि कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई पूर्ण क्षमताका साथ संचालनमा ल्याइएको साझाले जनाएको छ।

कन्ट्रोल सेन्टर संचालनमा आएसँगै सडकमा गुड्ने साझा यातायातका सम्पूर्ण बसहरूको प्रत्यक्ष गतिविधि, लोकेसन ट्रयाकिङ, रुट व्यवस्थापन, यात्रु चाप तथा चालक दलको कार्यसम्पादन एउटै कक्षबाट रियल टाइमामा निगरानी गरिनेछ। यसले दुर्घटना, प्राविधिक समस्या, वा ट्राफिक जामको समयमा तुरुन्तै निर्देशन र समन्वय गर्न मद्दत पुग्नेछ।

त्यस्तै, अब साझा चढ्ने यात्रुले नगद बिनै भाडा तिर्न सक्नेछन् । यात्रुहरूले कुनै थप एप वा कार्डको झन्झटबिना सजिलै डिजिटल माध्यमबाट भाडा तिर्न सक्नेछन् । नेपालका जुनसुकै बैंकका कार्डहरू ट्याप गरेर वा नेपाल पेको क्यूआर र अन्य डाइनामिक क्यूआर स्क्यान गरी तुरुन्तै भाडा भुक्तानी गर्न सकिने सुविधा मिलाइएको छ।

यात्रुहरूको नियमित यात्रालाई अझ द्रुत बनाउन नेपालपेसँगको सहकार्यमा ट्राभल कार्ड ल्याउने तयारी तीव्र पारिएको छ । जसबाट सेकेण्डमै भुक्तानी गर्न सकिनेछ।

डिजिटल भुक्तानी प्रयोग गर्ने यात्रुहरूका लागि दैनिक, साप्ताहिक तथा मासिक रूपमा आकर्षक उपहार जित्न सकिने ‘लक्की ड्र’ योजना संचालन गरिएको छ । साथै, उत्कृष्ट सेवा दिने चालक तथा सहचालकहरूलाई समेत नगद पुरस्कारबाट पुरस्कृत गरिने व्यवस्था गरिएको छ।

यस्तै, काठमाडौं, ललितपुर लगायत महानगरपालिकाको सहकार्यमा असोज ३ देखि उपत्यकामा रात्रि बस सेवा विस्तार गरिने भएको छ ।


Back_to_top