१८ मुख्य राजमार्ग अझै बन्द

काठमाडौं । बाढीपहिरोका कारण अझै देशभरका डेढ दर्जन मुख्य राजमार्ग अवरुद्ध रहेका छन् । केही राजमार्ग एकतर्फी संचालनमा लयाइए पनि १८ मुख्य सडक अवरुद्ध रहेका हुन् ।

नेपाल प्रहरीका अनुसार मंगलबार बिहानसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक अवरुद्ध रहेका हुन् ।

हेटौंडाबाट काठमाडौं आउने कान्ति लोकपथ पहिरोका कारण पूर्ण रूपमा बन्द छ । ललितपुरको बागमती गाउँपालिका टार्कुचेमा पहिरो जाँदा कान्ति लोकपथ बन्द भएको हो । टिकाभैरव-चारघरे सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, मकवानपुरको हेटौँडा-भैँसे-भिमफेदी-फाखेल-काठमाडौँ सडक खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ। रसुवाका सबै मुख्य राजमार्गहरू भदौ १० गतेदेखि बन्द छन् ।

धादिङको पृथ्वी राजमार्गमा पर्ने कृष्णभिर र चालिसेमा पहिरो पन्छाएर एकतर्फी यातायात संचालनमा ल्याइएको छ ।बीपी राजमार्गकाे काभ्रेकाे केही खण्डमा पनि एकतर्फी सवारी संचालनमा ल्याइएकाे प्रहरीले जनाएको छ।

कोशी प्रदेशको सोलुखुम्बुमा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सिद्धिचरण लोकमार्गसहितका सडकमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सवारी र पैदल यात्रीको आवातजावतमा रोक लगाइएको छ ।

बाढीको कटान र पहिरोका कारण चीनसँगको व्यापारिक नाका कोरला पुग्ने सडक पनि ठप्प छ । कालिगण्डकी करिडोर अन्तर्गत बागलुङ खण्ड, म्याग्दीको बेनी-जोमसोम, बेनी-दरबाङ, जोमसोम कोरला, मालढुङ्गा-बेनी सडक खण्ड पूर्ण रूपमा बन्द छन्।

त्यसैगरी, लमजुङको मध्य पहाडी लोकमार्ग र तनहुँको पृथ्वीराजमार्ग (घाँसीकुवा) मा पनि पहिरोले गर्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ प्रहरीले जनाएको छ ।

पहिरोको कारण लुम्बिनी प्रदेशको गुल्मीस्थित कालिगण्डकी करिडोर, कर्णाली प्रदेशको कालिकोटस्थित कर्णाली राजमार्ग (गगने खोला) र मुगुको नाग्म-गमगढी सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

हाल अवरुद्ध सडकहरू खुलाउन सडक विभाग, सम्बन्धित सडक डिभिजन, प्रहरी तथा स्थानीय प्रशासन लागिपरेका छन् ।

कुन सडकखण्ड कहाँ अवरुद्ध छ भन्ने विस्तृत हेर्न यहाँ क्लिक गर्नुहोस्


Back_to_top