काठमाडौं । टाटा नेपालमा १० हजार विद्युतीय कार बिक्री गर्ने दोस्रो ब्राण्ड बनेको छ । नेपाली बजारमा ३ दर्जन बढी ईभी ब्राण्ड रहे पनि १० हजारको माइलस्टोन पूरा गर्ने टाटा दोस्रो ब्राण्ड बनेको हो ।
यसअघि बीवाइडीले १० हजार युनिट ईभी बिक्री गर्ने पहिलो ब्राण्डको रेकर्ड बनाएको थियो । सन् २०२१ देखि नेपालमा टाटाका ईभी बेच्न थालेको सिप्रदी ट्रेडिङले ५ वर्षको अवधिमै उक्त उपलब्धी हासिल गरेको हो । सिप्रदीले सन् २०२१ जुलाईदेखि २०२६ सेप्टेम्बर १५ सम्म कुल १० हजार ८२४ युनिट ईभी बिक्री गरेको हो ।
कम्पनीले नेपालमा टाटाका आइस गाडी बिक्री थालेको भने साढे ४ दशक भइसकेको छ । आइस गाडीमा आफ्नो सफल पहिचान बनाउन सफल टाटाले ईभीमा पनि आफ्नो विरासत कायम राखेको देखिन्छ । कम्पनीले दोस्रो वर्ष अर्थात् सन् २०२२ देखि नै चार अंकको संख्यामा गाडी बेच्न सफल भएको हो । सन् २०२३ यताका ४ वर्ष लगातार २ हजार युनिट बढी ईभी बेच्दै आएको छ ।
नेपालमा चिनियाँ ईभीको वर्चश्वको बीच टाटाले आफूलाई बलियो प्रतिस्पर्धीको रूपमा उभ्याएको । ब्राण्ड प्रतिको ग्राहकको विश्वास, गर्विलो लिगेसी, ग्राहकको आवश्यकता र चाहना अनुसारका नयाँ र किफायति मोडल ल्याउनु, डिलर, सर्भिस नेटवर्कसँगै देशव्यापी चार्जिङ पूर्वाधार विस्तारले गर्दा टाटाको ईभी रोजाइमा परेका हुन् ।
सिप्रदीले हाल टाटाका इन्ट्री लेभल ह्याचब्याकदेखि प्रिमियम एसयूभीसम्म बिक्री गर्दै आएको छ । मूल्यका आधारमा २८ लाखदेखि ५९ लाखसम्मका ईभी बिक्री गर्छ । हालै ल्याएको सिएरा ईभीको भने मूल्य घोषणा गरेको छैन । टाटाले सेडान, ह्याचब्याक र एसयूभी सेग्मेन्टमा ईभी उपलब्ध गराएको छ ।
कुन वर्ष कति बेच्यो ?
टाटाले सन् २०२१ मा पहिलोपटक नेक्सन मार्फत नेपालमा ईभी बिक्री थालेको थियो । सो वर्ष कम्पनीले १८८ युनिट नेक्सन आयात गरेको थियो ।
सन् २०२२ देखि टाटाको बिक्रीले रफ्तार समातेको थियो । सो वर्ष कम्पनीले कुल १४५० युनिट ईभी आयात गरेको थियो । जसमा १३०१ युनिट नेक्सन र १४९ टिगोर ईभी ल्याएको थियो ।
त्यस्तै, सन् २०२३ मा कीर्तिमानी २ हजार ५५७ युनिट ईभी बिक्री गर्यो । जसमा १२८५ युनिट नेक्सन, ८२४ युनिट टियागो र ४४८ युनिट टिगोर ईभी रहेका थिए ।
सन् २०२४ मा सिप्रदीले टाटाका २ हजार ३५५ युनिट ईभी नेपाल ल्याएको थियो । जसमा नेक्सन २७ युनिट, पन्च ४९२ युनिट, टियागो १०९८ युनिट र टिगोर ७३८ युनिट रहेका थिए ।
सन् २०२५ मा पनि सिप्रदीले झण्डै साढे २ हजार ईभी ल्याएको थियो । सो वर्ष नेक्सन १६४ युनिट, पन्च ५३४ युनिट, टियागो ३९५ युनिट, टिगोर ११४६ युनिट र कर्भ ईभी ९० गरी कुल २३२९ युनिट ईभी बिक्री गरेको थियो ।
सन् २०२६ मा पनि सिप्रदीले विगतका वर्षको लय कायमै राखेको छ । सेप्टेम्बर १५ सम्म (साढे ८ महिना)मा सिप्रदीले १९४५ युनिट ईभी आयात गरिसकेको छ । जसमा नेक्सन १२६ युनिट, पन्च ५२६ युनिट, टियागो ५०५ युनिट, टिगोर ७६४ युनिट, कर्भ २२ युनिट र नयाँ मोडल सिएरा २ युनिट ल्याएको छ । यो वर्षको ३ महिना अझै बाँकी रहेको र चाडवाड सिजन नजिएकाले आगामी दिनमा आयात झनै बढ्ने देखिन्छ ।
कुन मोडल कति ल्यायो ?
नेपालमा टाटाका ६ ईभी मोडल उपलब्ध छन् । जसमा ५ प्यासेन्जर कार र एउटा ट्याक्सीको रूपमा बिक्री हुने सेडान रहेको छ । जसमा ३ मोडलले साढे २ हजार युनिटको आकडा पारे गरेका छन् ।
कम्पनीले सबैभन्दा धेरै ट्याक्सीको रूपमा बिक्री हुने टिगोर ईभी बिक्री गरेको छ । कम्पनीले हालसम्म ३२४५ युनिट टिगोर बिक्री गरेको हो ।
दोस्रो धेरै नेक्सन ईभी ल्याएको छ । सन् २०२१ को सप्टेम्बरमा नेपाल प्रवेश गरेको नेक्सन ५ वर्षको अवधिमा ३०९१ युनिट आयात भएको छ । यो नेपाली बजारमा सदवहार ईभी मोडलको रूपमा देखिएको छ । हालै फेसलिफ्ट मोडल आएसँगै झन् ग्राहकलाई आकर्षित गरिरहेको छ ।
त्यस्तै, टियागो ह्याचब्याक २८२२ युनिट आयात भएको छ । २०२३ सेप्टेम्बरमा नेपाल आएको टियागो ३ वर्षमै उक्त संख्यामा आयात भएको हो । टियागो नेपालमा पाइने सबैभन्दा सस्तो ह्याचब्याक ईभी समेत हो ।
चौथो धेरै पन्च एसयूभी १५५२ युनिट आयात भएको छ । २०२४ जुलाईमा नेपाल आएको पन्च पहिलो वर्षमै ४९२ युनिट, २०२५ मा ५३४ र २०२६ मा ५०५ युनिट आयात भएको हो ।
अन्य मोडलको आयात न्यून छ । गत वर्ष नेपाल आएको कर्भ ईभी हालसम्म ११२ युनिट मात्र आयात भएको छ । सिप्रदीले भदौमा नाडा अटो शोमार्फत टाटाको प्रिमियम मोडल सिएरा नेपाल ल्याएको थियो । कम्पनीले यसको आधिकारिक बिक्री सुरू गरेको छैन । कम्पनीले अटोशोमा प्रदर्शन गर्न २ युनिट सिएरा ल्याएको थियो ।

