आयो ज्यागुअरको नयाँ पुस्ताको शक्तिशाली ईभी ‘टाइप ०१’, रेन्ज ७२० किमी

काठमाडौं । बेलायती लक्जरी कार निर्माता ज्यागुअरले आफ्नो बहुप्रतीक्षित विद्युतीय कार जीटी टाइप ०१ सार्वजनिक गरेको छ । कम्पनीले अमेरिकाको न्युयोर्कमा आयोजित विशेष समारोहका बीच टाइप ०१ को प्रिमियर गरेको हो ।

चार ढोका भएको इलेक्ट्रीक जीटी (ग्राण्ड टुरर)ज्यागुअरको नयाँ पुस्ताको उत्पादनमा जाने पहिलो मोडल समेत हो । लन्च अगावै यसले आफ्नो शक्तिशाली पर्फमेन्स र र आकर्षक बनावटका कारण सबैको ध्यान खिच्न सफल भएको छ ।

टाइप ०१ ले १,००० पीएसभन्दा बढी पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ। यसले करिब ७२० किमी डब्लूएलटीपी रेन्ज दिनेछ । साथै, यसले ३५० किलोवाट क्षमताको फास्ट चार्जर प्रयोग गर्दा १३ मिनेटमै करिब ३२२ किलोमिटर रेन्ज थप गर्न सकिने दाबी गरिएको छ।

टाइप ०१ ज्यागुअरले ईभीका लागि विशेष रूपमा विकास गरेको ज्यागुअर इलेक्ट्रीक आर्किटेक्चर (जेईए) मा आधारित छ। यसमा ८५० भोल्टको विद्युतीय प्रणाली प्रयोग गरिएको छ । जसले अधिकतम ३५० किलोवाटसम्मको चार्जिङलाई समर्थन गर्छ।

टाइप ०१ को डिजाइन ज्यागुअरका अघिल्ला उत्पादन मोडलभन्दा निकै फरक छ। यसमा होचो छत, लामो बोनट र स्लिक सिल्हुट दिइएको छ। कम्पनीले यसको डिजाइनलाई आफ्नो चर्चित ई-टाइप र एक्सजेएस जस्ता ऐतिहासिक मोडलको विरासतसँग जोडेको छ।

तर, टाइप ०१ ले पुराना मोडलको डिजाइनलाई हुबहु पछ्याउनुको सट्टा आधुनिक ईभी युगअनुसार आफ्नै विशिष्ट डिजाइन ल्याङ्ग्वेज अपनाएको छ। यसको बाहिरी डिजाइन ज्यागुअरले यसअघि प्रस्तुत गरेका प्रारम्भिक डिजाइन अध्ययनबाट विकसित भएको हो ।

उत्पादन संस्करणलाई अन्तिम रूप दिनुअघि टाइप ०१ को विकासका क्रममा सयौँ हजार किलोमिटर परीक्षण गरिएको कम्पनीले जनाएको छ। न्यूयोर्कमा आयोजित प्रदर्शनमा कारको डिजाइन विकास र च्यासिस ट्युनिङसँग सम्बन्धित विभिन्न सामग्रीसमेत प्रदर्शन गरिएको थियो ।

टाइप ०१ को विकास बेलायतमा गरिएको हो भने यसको उत्पादन पनि बेलायतमै हुनेछ। कम्पनीका अनुसार यसको अर्डर सन् २०२७ को सुरुवातदेखि खुला गरिनेछ। पहिलो ग्राहकलाई भने २०२७ को दोस्रो अर्धवार्षिकमा गाडी हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ।

ज्यागुअरले टाइप ०१ लाई आफ्नो नयाँ विद्युतीय पुस्ताको सुरुवाती मोडलका रूपमा लिएको छ । आगामी दिनमा यही विद्युतीय आर्किटेक्चरमा आधारित थप मोडलहरू ल्याउने कम्पनीको योजना छ।

टाइप ०१ नाममा पनि विशेष अर्थ लुकेको छ। ‘टाइप’ ले ज्यागुअरको इतिहासमा रहेका पुराना मोडलसँगको सम्बन्ध जनाउँछ। ‘०’ ले शून्य टेलपाइप उत्सर्जन अर्थात् विद्युतीय सवारीलाई संकेत गर्छ भने ‘१’ ले नयाँ पुस्ताको पहिलो मोडल भएको जनाउँछ।

यससँगै टाइप ०१ ले ज्यागुअरको विद्युतीय रूपान्तरणलाई नयाँ चरणमा प्रवेश गराउने महत्वपूर्ण मोडलका रूपमा आफूलाई प्रस्तुत गरेको छ। कम्पनीले यसलाई बजारमा उच्च पर्फमेन्स, ३५० किलोवाट फास्ट चार्जिङ क्षमता र धेरै रेन्ज दिने ईभीको रूपमा स्थापित गर्ने अपेक्षा गरेको छ ।


Back_to_top