काठमाडौं । स्विजरल्यान्डको स्टार्टअप कम्पनी ‘विन्डक्सन’ले सडकबाटै विद्युतीय बसमा तारबिनै विद्युत् पठाएर चार्ज गर्न सकिने नयाँ प्रविधि विकास गरेको छ ।
‘ईटीएच ज्युरिख’को सहकार्यमा विकास गरिएको उक्त प्रविधिमा बस रोकिँदा सडकमा जडान गरिएको चार्जिङ प्लेटमार्फत बसको ब्याट्रीमा विद्युत् पठाइन्छ ।
ईटीएच ज्युरिखबाट विकसित ‘स्पिन-अफ’ कम्पनी विन्डक्सनले तयार पारेको उक्त चार्जिङ पद्दती सडकमा बिच्छाइने विशेष चार्जिङ प्लेटको सहायतामा चल्छ । उक्त प्लेटभित्र र टायरभित्र रहने चुम्बकीय बस्तुले ऊर्जा ब्याट्रीमा पठाउने काम गर्नेछ ।
अहिलेसम्मको रिपोर्ट अनुसार सडकको चार्जिङ प्लेटबाट बससम्म विद्युत् स्थानान्तरण गर्दा ९० प्रतिशतभन्दा बढी दक्षता हासिल भएको छ । बस यात्रु चढाउन वा ओराल्न रोकिँदाकै समयमा पनि चार्ज हुने भएकाले समयको बचत हुने बताइन्छ ।
यस प्रविधिको प्रारम्भिक नमुना परीक्षण सुरु भइसकेको छ । अहिले पुरानो हुलाक बसलाई ईभीमा रूपान्तरण गरेर परीक्षण भइरहेको छ ।
यो पद्दती प्रयोग गर्न बनाइएको विशेष टायरमा सामान्य बसको टायरमा हुने स्टिल बेल्ट राखिएको छैन । स्टिलले चुम्बकीय क्षेत्रमा असर पार्नुका साथै ताप उत्पन्न गर्न सक्ने भएकाले यस्तो डिजाइन गरिएको हो ।
विन्डक्सनका अनुसार ज्युरिख विमानस्थलदेखि ओर्लिकोनसम्मको सम्भावित बस मार्गमा रहेका २४ वटा बस बिसौनीमध्ये दुई स्थानमा मात्रै चार्जिङ प्लेट राखे पुग्ने अनुमान गरिएको छ । यसरी १६ घण्टाको दैनिक संचालन अवधिमा बसले करिब ३ घण्टा चार्ज गर्नुपर्ने हुन्छ । हाल रातभर चार्ज गर्दा करिब ५ घण्टा आवश्यक पर्ने अनुमान छ ।
कम्पनीले स्विट्जरल्यान्डको विन्टरथरमा परीक्षण केन्द्र र चार्जिङ स्टप निर्माण गरिरहेको छ । विन्डक्सनले २०२८ मा यात्रुसहितको पहिलो परीक्षण सञ्चालन गर्ने योजना बनाएको छ ।

