एडीबीद्धारा नेपालका लागि ४७ अर्ब स्वीकृत, ७९ किमी सडक चारलेनको बनाइने

सांकेतिक तस्बिर

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) नेपालका लागि ४७ अर्ब रुपैयाँ बढी वित्तीय सहयोग स्वीकृत गरेको छ । एडीबीले नेपालको रणनीतिक राजमार्ग विस्तार, सडक सुरक्षा र वन्यजन्तु संरक्षणका लागि ३० करोड ५७ लाख अमेरिकी डलर (करिब ४७ अर्ब २५ करोड रुपैयाँ) वित्तीय सहयोग स्वीकृत गरेको हो ।

एडीबीले सार्वजनिक गरको विवरण अनुसार उक्त रकम मध्ये २८ करोड ५० लाख डलर (करिब ४४ अर्ब) रुपैयाँ ऋण, २ करोड डलर (करिब ३ अर्ब ८ करोड रुपैयाँ) अनुदान र ७ लाख ५० हजार डलर प्राविधिक सहायता रहेको छ ।

उक्त रकम ‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) राजमार्ग सुधार तथा पारिस्थितिक प्रणाली पुनस्र्थापना आयोजना’ अन्तर्गत राजमार्ग विस्तार, सडक सुरक्षामा सुधार, विपद् जोखिम न्यूनीकरण र वन्यजन्तुको आवागमन सहज बनाउने पूर्वाधार निर्माण गरिने एडीबीले उल्लेख गरेको छ ।

एडीबीको उक्त ऋण सहयोमा नेपालका दुई मुख्य राजमार्गको ७९ किलोमिटर सडक चारलेनमा स्तारोन्नति गरिने छ । जसमा पूर्व–पश्चिम राजमार्गको नारायणगढ–हेटौँडा खण्डको करिब ७० किमी र मुग्लिन–आँबुखैरेनी खण्डको बाँकी ८.७ किमी सडक रहेका छन् ।

हाल दुई लेनमा रहेको नारायणगढ–हेटौँडा सडक चार लेनको बनाउन ठेक्का समेत आह्वान भइरसकेको छ । यस सडक खण्डका विभिन्न ठाउामा नयाँ पुल निर्माण गरिने छ । साथै, वन्यजन्तु निर्वाध आवतजावतका लागि चितवनको टिकौली जंगल क्षेत्रमा सवारी साधनका गुड्ने २ किमी लामो फ्लाइओभर (एलिभेटेड हाइवे) निर्माण गरिने ।

उक्त क्षेत्रमा सडकमा सवारीसाधनको चाप बढ्दा वन्यजन्तुको आवागमन प्रभावित हुने र सवारीसाधनसँग ठोक्किएर वन्यजन्तु मर्ने जोखिम रहने भएकाले वन्यजन्तुमैत्री संरचना निर्माण गर्न लागिएको एडिबीले जनाएको छ।

त्यस्तै, पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-आँबुखैरेनी खण्ड पनि चार लेनमा विस्तार गरिनेछ । मुग्लिन–पोखरा सडकमध्ये आँबुखैरेनीदेखि पोखरासम्म सडक चारलेनमा विस्तार भइसकेको छ । बाँकी मुग्लिन-आँबुखैरेनी ८.७ किमी खण्ड अब चार लेनको बनाइने छ । जसमा लागि मर्स्याङ्दी नदी पारी समानान्तर सडक बनाइने छ ।

काठमाडौंलाई पोखरासँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको पृथ्वी राजमार्गको यो खण्डमा सडक क्षमता विस्तार र पूर्वाधार सुधारले यातायात सञ्चालनलाई थप सहज तथा सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।

नारायणगढ-हेटौँडा र मुग्लिन-आँबुखैरेनी दुवै खण्डमा सुधार भएपछि राष्ट्रिय यातायात सञ्जालको क्षमता बढ्नुका साथै यात्रु तथा मालवाहक सवारीसाधनको आवागमनमा सहयोग पुग्ने अपेक्षा छ। यी मार्गले आन्तरिक आवागमनसँगै व्यापार र पर्यटन गतिविधिमा पनि महत्त्वपूर्ण भूमिका खेल्छन् ।

परियोजनामा बाढीपहिरोबाट सडक पूर्वाधारमा पर्न सक्ने क्षति न्यूनीकरण गर्न विभिन्न जोखिमप्रतिरोधी संरचना निर्माण गर्ने योजना समावेश गरिएको छ। यसअन्तर्गत प्रभावकारी निकास प्रणाली निर्माण, सडकका तटबन्ध बलियो बनाउने, भिरालो जमिनको स्थिरीकरण तथा विपद् प्रतिरोधी पुल निर्माणजस्ता काम गरिनेछन्।

त्यस्तै, प्राप्त अनुदान वन्यजन्तु तथा जैविक विविधता संरक्षण, वन्यजन्तुको आवागमन सहज बनाउने पूर्वाधार, सडक सुरक्षा सुधार, तालिम कार्यक्रममार्फत महिलाका लागि जीविकोपार्जनका अवसर विस्तार तथा दिगो यातायात योजना निर्माणसम्बन्धी संस्थागत क्षमता अभिवृद्धिमा पनि सहयोग गरिने एडीबीले जनाएको छ।

नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नाउड कोच्वाले यस परियोजनाले नेपालको महत्त्वपूर्ण यातायात मार्गको स्तरोन्नति गर्ने बताए।

‘यस परियोजनाले मानिस, व्यवसाय र पर्यटनका लागि यातायात सम्पर्क सुधार गर्नुका साथै वन्यजन्तु आवागमनका मार्ग पुनःस्थापना गर्न सहयोग गर्नेछ । जलवायु तथा विपद् जोखिम सामना गर्न सक्ने पूर्वाधार र वन्यजन्तुमैत्री संरचनालाई एकीकृत गरेर यातायात क्षेत्रमा गरिने लगानीले सम्पर्क विस्तार, जैविक विविधता संरक्षण, दिगो विकास र समावेशी आर्थिक वृद्धिमा कसरी योगदान दिन सक्छ भन्ने यस परियोजनाले देखाउँछ,’ उनले भने ।


Back_to_top