काठमाडौं । जर्मनी प्रिमियम मोटरसाइकल निर्माता बीएमडब्लू मोटार्डले ४५० सीसी स्पोर्टी डिजाइनको नयाँ मोटरसाइकल यही साता सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले एक टिजर सार्वजनिक गर्दै आफ्नो नयाँ फुल्ली फेयर्ड स्पोर्टस् मोटरसाइकल अक्टोबर १५ तारिखमा विश्वव्यापी रूपमा अनावरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको टिजरमा देखिएको नयाँ मोटरसाइकल बीएमडब्लू एफ ४५० आरआर रहेको भारतीय मिडियामा उल्लेख गरिएको छ । यद्यपि, कम्पनीले भने नाम खुलाएको छैन ।
नयाँ मोडल बीएमडब्लूको नयाँ ४५० सिरिजमा नै आधारित हुने बताइएको छ । यसअघि कम्पनीले एफ ४५० जीएस एड्भेन्चर मोटरसाइकलको बिक्री थालिसकेको छ । केही दिन अघिमात्रै एफ ४५० आर नेकेड रोडस्टर पनि अनावरण गरेको थियो भने अब स्पोर्ट मोडल देखाउने तयारी गरेको हो ।
सार्वजनिक टिजरमा मोटरसाइकलको पूर्ण डिजाइन स्पष्ट देखाइएको छैन । यद्यपि, यसमा फुल्ली फेयर्ड बडी, अग्लो विन्डस्क्रीन, अगाडिको भागको दुवैतर्फ राखिएका मिरर र आकर्षक फ्युल ट्यांक देख्न सकिन्छ ।
मोटरसाइकलको पछाडिको भागलाई तीखो र आक्रामक डिजाइन दिइएको छ । साथै, ह्याण्डलबार एफ ४५० आरको तुलनामा तल राखिएको देखिएकाले यसमा स्पोर्टी र अगाडि झुकेर चलाउनुपर्ने राइडिङ पोजिसन हुन सक्ने अनुमान गरिएको छ ।
नयाँ मोडलमा अन्य दुई मोडलकै समान ४२० सीसी क्षमताको इन्जिन प्रयोग हुने छ । नाममा ४५० उल्लेख भए पनि यस सिरिजमा ४२० सीसीको लिक्विड कुल्ड, प्यारलल ट्विन इन्जिन सेटअप प्रयोग गरिएको छ । यो इन्जिनले अधिकतम ४८ हर्सपावर र ४३ एनएम टर्क उत्पादन गर्छ भने यसको इन्जिनलाई ६ स्पीड गियरबक्ससँग जोडिने छ ।
आरआर मोडलको हार्डवेयर तथा अन्य प्रविधिलाई स्पोट्र्स बाइकअनुसार परिमार्जन गरेर प्रयोग गर्ने अनुमान गरिएको छ । यसमा ट्युबुलर स्टिल फ्रेम, अपसाइड डाउन यूएसडी फ्रन्ट फोर्क, रियर मोनोशक, १७ इन्चका अलोय ह्वील तथा दुवै पाँग्रामा डिस्क ब्रेक दिइने छ ।
मोटरसाइकलमा डिजिटल टीएफटी डिस्प्ले, स्मार्टफोन कनेक्टिभिटी, राइडिङ मोड, ट्रयाक्सन कन्ट्रोल, कर्नरिङ क्षमतासहितको एबीएस सिस्टम लगायतका फिचरहरू समावेश हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, मोटरसाइकलमा सिफ्ट असिस्ट प्रो र इजी राइड क्लच प्रविधि उपलब्ध हुनेछ । यो प्रविधिले क्लच लिभर प्रयोग नगरी मोटरसाइकल अघि बढाउन र रोक्न सहज बनाउँछ ।
बीएमडब्लूले यसअघिको ३१० सिरिजकै रणनिति ४५० सिरिजमा अपनाउन लागेको देखिन्छ । कम्पनीले ३१० सीसीको रिप्लेसमा ल्याएको ४५० इन्जिनलाई पनि एड्भेन्चर, नेकेड र स्पोर्ट गरि तीन सेग्मेन्टमा बजारमा ल्याउने भएको हो । हाल एड्भेन्चरको बिक्री भइरहेको छ भने नेकेड र स्पोर्ट मोडलको बिक्री २०२७ बाट सुरु हुने अनुमान गरिएको छ ।

