काठमाडौं । नेपाली बजारमा ७ सिट क्षमताका विद्युतीय एसयूभी सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा सुरू भएको छ । बजारमा बिक्रीको लागि उपलब्ध वुलिङ एक्सियन ईभी र एमजी हेक्टर टोमहक ईभी बीचको प्रतिस्पर्धा निकै रोचक देखिन्छ ।
प्राविधिक आधारमा यी दुवै एसयूभीमा समानता छ । डिजाइन पनि एउटै नै भन्दा हुन्छ । मूल्यमा केही भिन्नता छ भने फिचरमा राम्रै भिन्नता देख्न पाइन्छ । यस्तोमा कुन किन्दा ठिक हुन्छ होला भन्ने प्रश्न गर्ने पाठकको लागि हामीले यी दुई एसयूभीमा भएका भिन्नता केलाउने प्रयास गरेका छौं ।
यी दुई गाडी प्लेटफर्मदेखि पार्ट्ससम्म सेयरिङ भएका एसयूभी हुन् । चीनको सरकारी कम्पनी एसएआइसी ग्रुपसँग वुलिङको पनि स्वामित्व छ भने भारतमा जेएसडब्लू ग्रुपसँग साझेदारी गरेर एमजीले कार बनाउँदै आएको छ । ठ्याक्कै भन्नुपर्दा वुलिङ एक्सियनकै पार्ट्स र टेक्नोलोजी सेयर गरेर हेक्टर टोमहक उत्पादन भएको हो ।
वुलिङ एक्सियन र एमजी हेक्टर टोमहक ईभीमा समान ६९.२ किलोवाट आवरको एलएफपी ब्याट्री, १५० किलोवाट क्षमताको विद्युतीय मोटर र ३१० एनएम टर्क उपलब्ध दिने क्षमता छ । फ्रन्ट ह्वील ड्राइभ दुवै एसयूभीमा ७ जनाले यात्रा गर्न सक्छन् । उचाइमा केही फरक भए पनि ह्वीलबेस समेत बराबर देखिन्छ ।

अहिले नेपालमा उपलब्ध भेरियन्ट अनुसार हेर्दा फिचर र मूल्यमा वुलिङ एक्सियन आकर्षक देखिन्छ । शनिबार मात्रै सार्वजनिक भएको एमजी हेक्टर टोमहकको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ छ । वुलिङ एक्सियनको मूल्य ५५ लाख ९९ हजार छ । यी दुवै कम्पनीले दिएका अफर मूल्य हुन् ।
वुलिङ एक्सियनको प्रकाशित अधिकतम खुद्रा बिक्री मूल्य ५७ लाख ९९ हजार रुपैयाँ हो । जबकि हेक्टर टोमहकको प्रकाशित मूल्य ६१ लाख ९९ हजार हो । सुरूवाती ५० उपभोक्ताले ४ लाख रुपैयाँको फाइदा पाउने कम्पनीले जनाएको छ ।
वुलिङ एक्सियनमा उपलब्ध एडास (एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम) एमजी हेक्टर टोमहकको अहिले बिक्री सुरू भएको भेरियन्टमा छैन । त्यसैगरी, सनरुफ, अगाडिका भेन्टिलेटेड सिट, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर, ५० वाटको वायरलेस चार्जर र पावर टेलगेट पनि हेक्टर टोमहकमा छैन । त्यस बाहेक एडाप्टिभ क्रुज कन्ट्रोल र साउन्डप्रुफ टिन्टेड ग्लास पनि टोमहकमा छैन । तर, यी सबै फिचर वुलिङ एक्सियनमा पाउन सकिन्छ ।
गाडी किन्दा मोटर क्षमता र ब्याट्री बाहेकका अन्य सुविधा हेर्नेको लागि सुरक्षा प्रविधि, यात्राको सहजता, आरामदायी सुविधा र दैनिक प्रयोगमा हुने उपयोगिता महत्वपूर्ण हुन्छ । सुविधाको सूची र मूल्यलाई मात्र आधार मान्ने हो भने वुलिङ एक्सियन टोमहक माथि भारी पर्ने देखिन्छ ।
तर, ग्राउण्ड क्ल्यिरेन्समा भने टोमहक ईभी एक्सियनभन्दा निकै अगाडि छ । २३० एमएमको ग्राउण्ड क्लियरेन्स र १८ इन्चको ह्वीलले साइजले टोमहकलाई एउटा उत्कृष्ट एसयूभीको रुपमा उभ्याएको छ ।
विद्युतीय गाडीको बजारमा उत्पादनले दिने वास्तविक मूल्य महत्त्वपूर्ण बन्दै गएको छ । एउटै प्राविधिक क्षमताका गाडीमध्ये बढी सुविधा दिने उत्पादनले उपभोक्ताको प्राथमिकता पाउनु स्वाभाविक हो । तर, एमजीको बलियो ब्राण्ड नेम र भारतमा उत्पादन भएको कारण पार्ट्सको उपलब्धतामा थप सहज भने टोमहक ईभीमा हुन सक्ने देखिन्छ ।
त्यसैले यी दुईमध्ये कुन एसयूभी किन्ने भन्ने निर्णय उपभोक्ताको प्राथमिकतामा निर्भर हुनेछ । तर, अहिले उपलब्ध मूल्य र सुविधाको तुलना गर्दा वुलिङ एक्सियनले एमजी हेक्टर टोमहकलाई कडा चुनौती दिने प्रष्ट देखिन्छ ।
यी दुई ब्राण्डको रोचक प्रतिस्पर्धामा बाजी कसले मार्छ, त्यो हेर्न भने अझै केही महिना कुर्नुपर्ने हुन्छ ।

