चिनियाँ कारको सप्लाई रोकिँदा दशैंमा गाडी चढ्ने सपना अधुरो

तस्बिर एआइ ।

काठमाडौं । नेपालमा चिनियाँ ब्राण्डका कारको माग बढिरहेका बेला चीनसँग जोडिएका व्यापारिक नाकामा बाढीपहिरोका कारण उत्पन्न अवरोधले दशैंअघि नयाँ गाडी पाउने उपभोक्ताको प्रतीक्षा लम्बिएको छ ।

नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा गाडी बुकिङ गरेका हजारौं ग्राहकले दशैंअघि गाडी पाउनेगरी बुकिङ गरेका थिए । तर, आयात प्रभावित भएपछि उनीहरूको प्रतीक्षा लम्बिने देखिएको हो ।

अटोमोबाइल व्यवसायीहरूका अनुसार दुईवटा अटो शोमा मात्रै करिब ४ हजार युनिट हाराहारी विद्युतीय कार बुकिङ भएका थिए । तर, ती बुकिङमध्ये हालसम्म १ हजार युनिट पनि आयात भइनसकेको व्यवसायीहरू बताउँछन् । कतिपय भन्सार छुटेका गाडी बढीले बगाएका छन् भने कति गाडी काठमाडौं अझै आइपुगेका छैनन् ।

नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा चेरी क्यू, आर्कफक्स टी-१, बुलिङ एक्सियन, होङछी एचएस-४, जेको जे-५ प्रो, बीवाईडी एटो २ एसेन्सियल, बीजे-३०, नामी भिगो ई-२ र लिपमोटर बी ०३ एक्स लगायतका मोडलमा ग्राहकको आकर्षण देखिएको थियो ।

यीमध्ये कतिपय मोडल नयाँ बजार प्रवेश, आकर्षक मूल्य र विद्युतीय सवारीप्रतिको बढ्दो चासोका कारण बुकिङकर्ताको छनोटमा परेका थिए । तर, चीनबाट गाडी ल्याउने आपूर्ति श्रृंखला प्रभावित हुँदा बुकिङलाई समयमै डेलिभरीमा परिणत गर्न व्यवसायीलाई कठिन भएको हो ।

नक्सालस्थित नामीको शोरुममा भेटिएका एक ग्राहकले गाडी बुकिङ गरेको करिब दुई महिना पुग्न लाग्दा पनि डेलिभरीको निश्चित मिति नपाएको बताए । उनले नामी भिगो बुकिङ गरेका छन् ।

‘गाडी बुकिङ गरेको दुई महिना हुन लाग्यो । बाटोको समस्या अझै समाधान भएको छैन । दशैंमा गाडी पाउने आशा नै मरिसक्यो,’ उनले भने ।

बीवाइडी एटो २ बुकिङ गरेका ललितपुरका एक व्यवसायीको अनुभव पनि उस्तै छ । आफू र साथीले गाडी बुकिङ गरे पनि ढुवानी अवरुद्ध हुँदा गाडी आउन नसकेको उनले बताए ।

‘हामीले आफ्नै व्यवसायमा पनि यस्तै समस्या भोगिरहेका छौं । गाडी ल्याउने बाटो नै नभएपछि कसलाई के भन्नु?,’ ती व्यवसायीले मेरोअटोसँग भने ।

आर्कफक्सको शोरुममा भेटिएका अर्का ग्राहकले पनि सुरूवाती चरणमै बुकिङ गरेको र छिट्टै गाडी उपलब्ध हुने आश्वासन पाएको बताए । तर, भोटेकोसी बाढीले आर्कफक्सको पहिलो लटकै धेरै गाडी बगाएपछि डेलिभरी सरेको उनको भनाइ छ ।

दशैं नेपालमा नयाँ तथा पुराना दुवै प्रकारका सवारीसाधन किनबेच हुने प्रमुख सिजन हो । नयाँ गाडीको डेलिभरी अनिश्चित भएपछि तत्काल गाडी आवश्यक पर्ने केही ग्राहकले उपलब्ध ब्राण्ड वा सेकेण्ड ह्याण्ड बजारतर्फ विकल्प खोज्न थालेका छन् ।

व्यवसायीहरूकै भनाइमा, नयाँ गाडीको प्रतीक्षामा रहेका ग्राहकले रिकण्डिसन बजारबाट गाडी खरिद गर्ने क्रम पनि देखिएको छ ।

एक आयातकर्ताका अनुसार दशैंमा गाडी खरिद गर्ने योजना बनाएका ग्राहकले उपलब्ध विकल्प रोज्न सक्ने भएकाले पछि नयाँ गाडीको आपूर्ति सहज हुँदा कम्पनीहरू बीच प्रतिस्पर्धा थप चर्किन सक्नेछ।

‘दशैंमा गाडी किन्ने चाहना भएका धेरै ग्राहकले उपलब्ध ब्राण्ड वा रिकन्डिसनबाट भए पनि गाडी लैजान सक्छन् । त्यसैले अहिले बुकिङ भएका सबै ग्राहक पछि पनि उही गाडी लिन पर्खिन्छन् भन्ने हुँदैन,’ नाम उल्लेख नगर्ने सर्तमा ती आयातकर्ताले मेरोअटोसँग भने ।

दशैंपछि ढुवानी सहज भएर एकैपटक धेरै गाडी नेपाल भित्रिने अवस्था सृजना भएको छ । यस बीचमा बुकिङ गरेका धेरैले अर्को विकल्प रोजेका रहेछन् भने त्यतिबेला नयाँ बुकिङ आकर्षित गर्न मूल्य, फाइनान्स सुविधा, एक्सचेन्ज अफर र अन्य बिक्री योजनामा थप प्रतिस्पर्धा हुन सक्ने देखिन्छ ।


Back_to_top