युरोपमा सार्वजनिक भयो हुन्डाई बायोन, भारतमा ठूलो इन्जिनमा आउने

काठमाडौं । युरोपियन बजारमा कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईको नयाँ एसयूभी बायोन सार्वजनिक भएको छ ।

कम्पनीले बायोन एसयूभी र यसको एन लाइन संस्करण सार्वजनिक गरेको हो । एन लाइन संस्करणमा फरक डिजाइनका बाहिरी संरचना, विशेष शैलीका सजावटी सामग्री र १८ इन्चका एलोय ह्वील उपलब्ध छन् ।

हुन्डाई बायोन युरोपेली बजारमा सुरुमा १.० लिटर टर्बो पेट्रोल इन्जिनमा दुई विकल्प उपलब्ध हुनेछन् । सन् २०२७ मा १.६ लिटर हाइब्रिड इन्जिन समेत थपिनेछ । हुन्डाईले नयाँ बायोन टर्कीमा रहेको आफ्नो उत्पादन कारखानामा निर्माण गर्नेछ।

नयाँ बायोनमा १.० लिटर टी–जीडीआई पेट्रोल इन्जिन उपलब्ध छ । उक्त इन्जिनले ८९ हर्सपावर र ११३ हर्सपावर शक्ति प्रदान गर्छ । दुवै इन्जिनमा ६ गियर भएको म्यानुअल वा ७ गियर भएको डुअल क्लच स्वचालित गियरबक्स छनोट गर्न सकिन्छ ।

बायोन एसयूभीको टप स्पीड गति १८० किलोमिटर प्रतिघण्टासम्म हुनेछ । शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेटाउन इन्जिन र भेरियन्ट अनुसार १०.८ देखि १४.१ सेकेण्डसम्म लाग्छ ।

बायोनको हाइब्रिड संस्करणमा भने १.६ लिटर जीडीआई पेट्रोल इन्जिन र इलेक्ट्रीक मोटर रहनेछन्। यसको संयुक्त अधिकतम शक्ति १३६ हर्सपावर हुनेछ । हाइब्रिड भर्सनमा ६ स्पीड डुअल क्लच स्वचालित गियरबक्स रहनेछ । कम्पनीका अनुसार हाइब्रिड भर्सनले डब्लूएलटीपी मापदण्ड अनुसारको प्रारम्भिक कार्बन डाइअक्साइड उत्सर्जन प्रतिकिलोमिटर १०२ देखि ११३ ग्राम हुनेछ।

नयाँ हुन्डाई बायोनको लम्बाइ ४२४५ एमएम, चौडाइ १८१० एमएम, उचाइ १५६५ एमएमर १५७० एमएम छ । यसमा २६०० एमएमको ह्वीलबेस पाउन सकिन्छ ।

साधरण हुन्डाई बाययोनमा १६ र १७ इन्चका ह्वील छन् भने एनलाइन संस्करणमा १८ इन्चका ह्वील छन । पेट्रोल संस्करणमा ४४० लिटर र हाइब्रिड संस्करणमा ३९७ लिटर क्षमताको बुट स्पेस उपलब्ध छ । पछाडिका यात्रुका लागि ढल्काउन मिल्ने सिट, बीचमा आर्मरेस्ट र छुट्टै एसी भेन्टसमेत राखिएका छन्। यसमा अगाडि हिटेड र भेल्टिलेटेड सिट छन् भने पछाडि यात्रुका लागि हिटेड सिट उपलब्ध छ ।

बायोनको क्याबिनमा १२.३ इन्चका दुई वटा घुमाउरा डिस्प्ले छन् । यसमा हुन्डाई डिजिटल की २, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा पनि उपलब्ध छन्। साथै, ८ वटा स्पिकर भएको बोस ध्वनि प्रणाली, वायरलेस मोबाइल चार्जिङ, दुई क्षेत्रको तापक्रम छुट्टाछुट्टै नियन्त्रण गर्न सकिने वातानुकूलन प्रणाली र खोल्न मिल्ने प्यानोरामिक सनरुफ समावेश छन्। यसमा भएको डिजिटल की २ प्रविधिले स्मार्टफोन र स्मार्ट वाचको सहायताले गाडीको ढोका खोल्न र गाडी स्टार्ट गर्ने सुविधा दिन्छ ।

हुन्डाई बायोनमा कम्पनीको स्मार्टसेन्स सुरक्षा प्रणाली उपलब्ध छ। यसमा राजमार्गमा सवारी चलाउन सहयोग गर्ने हाइवे ड्राइभिङ असिस्ट २, अगाडिको ठक्करबाट जोगाउने फर्वार्ड कोलिजन एभोइडेन्स असिस्ट २ र लेनभित्र गाडीको दिशा कायम राख्न सहयोग गर्ने लेन फलोइङ असिस्ट २ समावेश छन्।

भारतमा ठूलो इन्जिनमा आउने

हुन्डाई बायोन भारतीय बजारमा भने युरोपियन बजारको भन्दा ठूलो इन्जिनमा आउने भएको छ । भारतीय संस्करणमा १.५ लिटरको एमपीआई पेट्रोल इन्जिन उपलब्ध हुनेछ । उक्त इन्जिनले ११३ हर्सपावर शक्ति र १४४ न्युटन मिटर टर्क उत्पादन गर्छ। यसमा ६ स्पीड म्यानुअल र इन्टेलिजेन्ट भेरिएबल ट्रान्समिसन भएको स्वचालित गियर बक्स रहनेछन्।

भारतीय बजारमा बायोन अक्टोबर २६ मा लन्च हुनेछ । कम्पनीले बुकिङ भने यसअघि नै खुलाइ सकेको छ ।भारतीय बजारमा बिक्री सुरु भएसँग बायोन एसयूभी नेपाल समेत आउने छ ।


Back_to_top