काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोरुसिंगे-चन्द्रौटा १९.२ किलोमिटर सडक चार लेनमा विस्तार गर्न ठेक्का लागेको छ ।
उक्त सडक विस्तारको ठेक्का चिनियाँ कम्पनी चाइना एमसीसी १७ ग्रुपले पाएको हो । कम्पनीले कुल ४ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ (भ्याट र पीएससहित)मा ठेक्का पाएको हो ।
कम्पनीले विभिन्न ११ कम्पनीलाई पछि पार्दै ठेक्का हात पारेको हो । कम्पनीले साढे २ वर्ष (३० महिना) भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ । साथै, निर्माण सम्पन्न भएको ५ वर्षसम्म मर्मत सम्भार पनि गर्नुपर्नेछ ।
गोरुसिंगे-चन्द्रौटा सडक सडक सहरी क्षेत्रमा ५० मिटर, अर्धसहरी क्षेत्रमा ३७.४ मिटर र ग्रामीण क्षेत्रमा २४ मिटर फराकिलो बनाइने छ । यसखण्डमा १२ वटा नयाँ पुल, ७१ कल्भर्ट पाइप कल्भर्टसहित), चन्द्रौटा चोकमा सवारी आवतजावतका लागि ८०० मिटर लामो भेहिकल अण्डरपास निर्माण गरिने छ ।
बुटवल-गोरुसिंगे-चन्द्रौटा कुल ६९ किमी सडकमध्ये बुटवल-गोरुसिंगे ५० किमीको २०८१ असारमा ठेक्का लगाई हाल निर्माणको काम भइरहेको छ । उक्त सडक निर्माणको ठेक्का शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन लिमिटेड/आशिष निर्माण सेवा प्राली जेभीले कुल १३ अर्ब ५५ करोड ६५ लाख ९६ हजार ४४१ रुपैयाँमा पाएको छ ।
दुई प्याकेजमा विभाजन गरी ठेक्का लगाइएको उक्त सडकमा हाल माटो फिलिङ, भित्तो कटान, टेवा पर्खाल, कल्भर्ट, पुल, अण्डरपास, एनिमल क्रसिङ निर्माण लगायत काम भइरहेको छ । हालसम्म एकतिहाई बढी काम सम्पन्न भएको छ ।
त्यस्तै, बुटवल-चन्द्रौटा सडक खण्डककै तिनाउ नदीमा ‘सिग्नेचर पुल’ निर्माण गर्न छुट्टै ठेक्का लगाइएको छ । पुल निर्माणको ठेक्का चिनियाँ कम्पनी एमरएस आनहुई सिनजियान होल्डिङ ग्रुपले १ अर्ब ७० करोड ५२ लाख ९५ हजार ५९२ रुपैयाँ ५७ पैसा (भ्याट र पीएससहित)मा पाएको छ ।

