चीनले घटायो ईभी निर्यातमा दिइने कर छुट, नेपालमा बढ्ला मूल्य ?

काठमाडौं । चीनले विद्युतीय गाडी निर्यातमा दिँदै आएको ‘भ्याट रिफन्ड’ घटाउने निर्णय गरेको छ । चीनको अर्थ मन्त्रालय र कर प्रशासनले अक्टोबर १२ मा जारी गरेको घोषणाअनुसार सन् २०२७ अप्रिल १ देखि लागुहुने गरी कर छुटको दर घटाएको हो ।

अहिले न्यू इनर्जी भेहिकल निर्यातमा दिइँदै आएको भ्याट रिफन्ड दर १३ प्रतिशतबाट घटाएर ९ प्रतिशत कायम गर्ने निर्णय चिनियाँ अर्थ मन्त्रालयले लिएको हो ।

यस निर्णयले चिनियाँ विद्युतीय गाडी उत्पादकको निर्यात लागत र नाफामा दबाब पार्न सक्ने अनुमान गरिएको छ ।

नेपालमा चिनियाँ विद्युतीय गाडीको बजार हिस्सा उल्लेख्य रहेकाले यसको प्रभाव नेपाली बजारसम्म आइपुग्न सक्ने देखिन्छ ।

निर्यातमा पाउँदै आएको कर छुट घट्दा चिनियाँ उत्पादकले आफ्नो नाफा जोगाउन गाडीको निर्यात मूल्य बढाउन सक्ने देखिन्छ । त्यसको प्रभाव नेपाली आयातकर्ता र ग्राहकसम्म पुग्ने वा नपुग्ने कुरा उत्पादकको मूल्य नीति, वितरकको मार्जिन र प्रतिस्पर्धामा निर्भर हुनेछ ।

तर, अहिले चीन सरकारले लिएको निर्णयले नेपालमा चिनियाँ ईभीको मूल्य तत्कालै भने बढ्ने छैन । नयाँ व्यवस्था सन् २०२७ अप्रिलदेखि लागू हुने भएकाले त्यसपछि आउने मूल्य परिवर्तनमा मात्र यसको प्रभाव देखिन सक्छ ।


Back_to_top