वीरगंज महानगरसहित ४ पालिका जोड्ने गरी नगर बस चलाइने

काठमाडौं । बारा र पर्साका चार पालिका जोड्ने गरी नगर बस संचालन गरिने भएको छ ।

वीरगञ्ज महानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र परवानीपुर गाउँपालिक जोड्ने गरी नगर बस चलाउने तयारी थालिएको हो ।

वीरगंज महानगरपालिकाले मंसिरभित्रै सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।

सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै अन्तरपालिका आवागमन सहज र सुलभ बनाउने उद्देश्यले नगर बस सञ्चालन गर्न लागिएको हो ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नगर बस सेवालाई दिगो र व्यवस्थित बनाउन चारवटै पालिकाको सहभागितामा १ करोड रुपैयाँको एकीकृत संचालन कोष स्थापना गर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार कोषमा वीरगंज महानगरपालिकाले ४० लाख, जितपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले ५ लाख रुपैयाँ योगदान गर्नेछन् ।

नगर बस सञ्चालनको सम्भाव्यता अध्ययन तथा आवश्यक तयारीका लागि चारवटै पालिकाका प्रतिनिधि सम्मिलित कार्यदलले तयार पारेको प्रतिवेदन आवश्यक संशोधनसहित पारित भइसकेको महानगरपालिकाले जनाएको छ ।

नगर बस सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ । कार्यदलले ७ मंसिरभित्र कार्यविधि तयार गरी पेस गर्नुपर्नेछ ।


Back_to_top