पेट्रोल कारमा ‘इन्जिन आयल’ कति चलेपछि फेर्ने ?

काठमाडौं । गाडीको इन्जिनलाई स्वस्थ राख्न नियमित सर्भिसिङ र इन्जिन आयल परिवर्तन अत्यन्त महत्वपूर्ण हुन्छ । तर, इन्जिन आयल कति किलोमिटरमा परिवर्तन गर्ने भन्ने विषय बिक्रेतादेखि चालकहरू अझै अन्योलमा देखिन्छन् ।

कसैले ५ हजार किलोमिटरभन्दा कम गुड्दा नै इन्जिन आयल फेर्नुपर्ने बताउँछन् । कतिपय ब्राण्ड वा कम्पनीले ८ देखि १० हजार किलोमिटर चलेपछि फेर्दा हुन्छ भन्ने गर्छन् ।

वास्तवमा इन्जिन आयल परिवर्तन गर्ने समय गाडीको मोडल, प्रयोग गरिएको आयल, इन्जिन प्रविधि र ड्राइभिङ अवस्थाले निर्धारण गर्छ ।

केही वर्षअघिसम्म नेपालमा धेरै कम्पनीले ३ हजार किलोमिटर वा तीन महिना जुन अगाडि आउँछ, त्यसमै इन्जिन आयल परिवर्तन गराउँथे । यो नेपालमा मात्रै नभएर विश्वव्यापी चलन थियो ।

त्यतिबेला प्रयोग हुने सामान्य मल्टिग्रेड आयलको गुणस्तर र इन्जिन प्रविधि अहिलेको तुलनामा कम विकसित थियो । अहिले प्रयोग हुने फुल्ली सिन्थेटिक आयल तुलनात्मक रूपमा लामो समयसम्म प्रभावकारी हुन्छ । त्यसैले गाडीमा उत्पादक कम्पनीले १० हजार किलोमिटरको अन्तरालमा सर्भिस गर्दा हुन्छ भन्छन् ।

नेपालको हकमा १० हजार किलोमिटर धेरै नै हो भन्ने मान्यता टेक्नीसियनहरूले राख्ने गरेको पाइन्छ । नेपालको सडक अवस्था, धुलो, ट्राफिक जाम र छोटो दूरीको आवतजावतले इन्जिनमा अतिरिक्त दबाब सिर्जना गर्ने हुँदा अल्ली छिटो सर्भिसिङ गराउन विज्ञहरूले सुझाव दिन्छन् ।

यहाँ बुझ्नु पर्ने अर्को कुरा के हो भने दैनिक ५/१० किलोमिटर मात्रै गाडी चलाउने चालकहरुको इन्जिन पूर्ण रूपमा तात्न नपाउँदै बन्द हुन्छ, त्यसले इन्जिन आयलमा ओसिलोपन जम्मा हुन सक्छ । त्यसैले छिटो फेर्दा राम्रो मानिन्छ ।

कुन आयल कति किलोमिटरमा फेर्ने ?

सामान्य मल्टिग्रेड आयल प्रयोग हुने पुराना गाडीमा करिब ५ हजार किलोमिटरमा आयल परिवर्तन गर्नु उपयुक्त मानिन्छ । सेमी सिन्थेटिक आयल प्रयोग हुने गाडीले ६ हजार किलोमिटर आसपासमा आयल परिवर्तन गर्दा राम्रो हुन्छ । तर, फुल्ली सिन्थेटिक आयल प्रयोग भएको छ भने उत्पादकले गर्ने सिफारिस अनुसार नै फेर्दा हुन्छ ।

कम चलेको गाडीमा पनि आयल फेर्नुपर्छ ?

गाडी धेरै नचलाउँदा इन्जिन आयल परिवर्तन गर्नुपर्दैन भन्ने सोच पनि गलत हुन्छ । लामो समय पार्किङमा राखिएको गाडीमा समेत समयसँगै आयलको गुणस्तर घट्छ । त्यसैले किलोमिटरका साथै समयलाई पनि ध्यान दिएर हेर्नु पर्ने हुन्छ ।

विशेषज्ञहरूको सुझावअनुसार छोटो दूरीमा मात्रै गाडी चलाउनेले सातामा एकपटक करिब ३० मिनेट लगातार गाडी चलाउँदा इन्जिनभित्र जम्मा भएको इन्धन र ओसिलोपन हटाउन सहयोग पुग्न सक्छ ।


Back_to_top