काठमाडौं । पोखरा यातायात प्रालिले पोखराको सार्वजनिक यातायात सेवालाई आधुनिक, सुरक्षित, गुणस्तरीय तथा वातावरणमैत्री बनाउने उद्देश्यका १६ वटा हाइगर विद्युतीय नगर मिनिबस खरिद गरेको छ ।
नेपालका लागि हाइगरको आधिकारिक बिक्रेता शाशील मोटर्स प्रालिले पोखरा यातायातका सदस्यहरू १६ वटा मिनिबस हस्तान्तरण गरेको हो ।
यससँगै पोखराको सार्वजनिक नगर यातायात सेवाको आधुनिकीकरण तथा विद्युतीय सवारी साधनको प्रयोग विस्तारमा महत्वपूर्ण सुरुवात भएको छ । यस पहलले पोखराको यातायात क्षेत्रमा सेवा गुणस्तर, यात्रु सुरक्षा, संचालन दक्षता तथा व्यवसायिक दिगोपन अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
हाइगरका मिनिबसमा ६४.५ किलोवाट आवर क्षमताको बीवाइडी ब्लेड ब्याट्री छ । शाशील मोटर्सको पोखराका लागि नवनियुक्त आधिकारिक डिलर प्लाटिनियम अटोमोबाइल्सका प्रबन्ध निर्देशक पदमबहादुर केसीले ग्राहकको लगानीको सुरक्षा, विश्वास र दीर्घकालीन व्यावसायिक सम्बन्धलाई कम्पनीको प्रमुख प्राथमिकता रहेको बताए।
क्षेत्रीय अटोमोबाइल व्यवसायमा आफ्नो लामो अनुभव, व्यावसायिक नेतृत्व तथा स्थापित व्यवसायिक पृष्ठभूमिलाई उल्लेख गर्दै उनले पोखरामा हाइगर ब्राण्डका सवारी साधनको गुणस्तरीय बिक्री, बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराउन उच्च व्यावसायिक इमानदारीता र प्रतिबद्धताका साथ काम गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, पोखरा यातायातका अध्यक्ष देउप्रसाद गुरुङले हाइगर ब्राण्डको निर्माण गुणस्तर सुरक्षा इन्जिनियरिङ तथा समग्र कार्यसम्पादनप्रति आफ्नो उच्च विश्वास रहेको बताए ।
उनले सवारी साधनको गुणस्तर र कार्यक्षमताले ग्राहकको सञ्चालन अनुभव, व्यवसायिक उत्पादकत्व तथा आम्दानी अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै हाइगरसँगको सहकार्यले पोखराको सार्वजनिक यातायात सेवामा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरे ।
त्यस्तै, हाइगर इन्जिनियर मनोज वाग्लेले ४५ जनाभन्दा बढी सहभागी चालक तथा सदस्यहरूलाई विद्युतीय सवारी साधनको सञ्चालन, प्रयोग विधि, प्राविधिक विशेषता, ब्याट्री तथा चार्जिङ प्रणाली, सुरक्षा सावधानी र नियमित मर्मतसम्भारसम्बन्धी विस्तृत अभिमुखीकरण तथा प्राविधिक तालिम प्रदान गरेका थिए ।
यस तालिमले चालकहरूको प्राविधिक ज्ञान, सुरक्षित सवारी सञ्चालन क्षमता तथा सवारी साधनको उचित उपयोगमार्फत सञ्चालन दक्षता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

