मारुती सुजुकीले अटो शोमा तीन हाइब्रिड कार सार्वजनिक गर्दै, यस्तो छ मूल्य

काठमाडौं । मारुती सुजुकीको नेपालको लागि आधिकारीक बिक्रेता सिजी मोटोकर्पले तीन वटा हाइब्रिड कार सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी भदौ १० गतेदेखि हुन गइरहेको नाडा अटो शोमा ति कारहरु सार्वजनिक गर्न लागेको हो ।

मारुती सुजुकीले प्रयोग गर्दै आएको माइल्ड हाइब्रिड इन्जिनमा आएका सियाज, आर्टिगा र एसक्रस गाडी नाडा अटो शोमा सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ ।

सुरुमा हाइब्रिड कारको सहुलियतमा  नेपाल भित्रिएकाे भएपनि स्मर्ट, माइल्ड र माइक्रो हाइब्रिड इन्जिन युक्त गाडीमा सरकारले भन्सार र अन्तःशुल्कमा छुट नदिएसँगै यि कारहरु रेगुलर आइसी इन्जिन युक्त सरह नै बिक्री वितरण हुने भएको छ । कम्पनी स्रोतका अनुसार यी कारहरु नाडा अटो शोबाट बिक्री सुरु हुने छन् भने यी सबै कार २०१९ मा नै फेसलिफ्ट भएर आएका नयाँ मोडल हुन् । 

‘हामीले ल्याएको हाइब्रिड कारले विशेषत माइलेजलाई बढाउने काम गर्छ भने जाममा बस्नु पर्दा इन्धन बचाउँछ’ कम्पनीका मार्केटिङ हेड करुण शाक्यले भने ।

शाक्य भन्छन् ‘माइलेजको विषयमा मारुती सुजुकी सधै अगाडि रहेको छ भने नयाँ हाइब्रिड कारमा त झनै समस्या हुने कुरै भएन ।’ 

कम्पनीले एसक्रसलाई तीन भेरियन्टमा सार्वजनिक गर्दैछ । जसमा एसक्रस डेल्टाको मूल्य ४२ लाख ९९ हजार, जेटाको मूल्य ४५ लाख ९९ हजार र अल्फाको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी कम्पनीले आर्टिगाको समेत तीन भेरियन्ट सार्वजनिक गर्न लागेको छ । जसमा भिएक्सआईको मूल्य ३८ लाख ९९ हजार, जेडएक्सआईको मूल्य ४१ लाख ९९ हजार र जेडएक्सआई प्लसको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

साथै कम्पनीले ल्याएको अर्को मोडल सियाजसमेत तीन भेरियन्टमा उपलब्ध हुने जनाइएको छ । सियाज डेल्टाको मूल्य ३८ लाख २९ हजार, जेटाको मूल्य ४१ लाख २९ हजार र अल्फाको मूल्य ४४ लाख २९ हजार रुपैयाँ तोकिएको छ ।  


Back_to_top