काठमाडौं । चाबहिलको चुच्चेपाटीमा रहेको पोलका कारण दैनिक जाम हुने गरेको छ । सो पोलका कारण सडक साँगुरो भएको उपत्यका विकास प्राधिकरणले समेत स्वीकारेको छ । तर, उक्त पोल हटाउने काम कसले गर्ने भन्ने विषयमा केही जानकारी प्राधिकरणलाई छैन ।
काठमाडौं सडक विस्तार आयोजनाका प्रवक्ता विशव विजयलाल श्रेष्ठका अनुसार सो पोल हटाउने काम महानगरको हो । उनले उक्त पोल महानगरको सम्पती भएकाले महानगरलाई नै हटाउन पत्रचार गरको तर, महानगरले उक्त काम आफुले गर्न नसक्ने जानकारी दिएको उनले बताए ।
‘त्यो पोल हटाउने काम महानगरको हो, हामीले पत्रचार गरेका थियौँ तर, उसले नै हामी हटाउन सक्दैनौँ भनेर चिठ्ठि पठायो,’ श्रेष्ठले मेरोअटोसँग भने ।
उनले उक्त पोल हटाउने तथा राख्ने विषयमा सम्झौतामा केही उल्लेख नभएकाले बजेट पुगे मात्र प्राधिकरणले हटाउने जानकारी दिए ।
त्यसैगरी काठमाडौं महानगरपालिकाले भने उक्त पोल सडक विस्तारकै क्रममा हटाउनु पर्ने बताएको छ ।
महागरका सहरी व्यवस्थापन प्रमुख हरिबहादुर कुँवरले सडक विस्तारले नै उक्त पोल हटाउनु पर्छ । नत्र हामीलाई आधिकारीक पत्र पठाए महानगरले हटाउने बताए ।
‘हामीलाई पत्र आए हामी हटाउछौँ, सम्बन्धित निकायले कोडिनेट गर्नुपर्यो,’ कुँवरले मेरोअटोसँग भने ।
हाल बौद्ध–जोरपाटी–साँखु सडक खण्ड पिच हुने क्रममा रहेको छ । उपत्यका सडक विकास योजनाले उक्त सडकखण्ड विस्तारको काम जिम्मा लिएको हो ।
हाल चाबहिलदेखि बौद्ध गेटवरसम्म सडक पिच हुने काम सम्पन्न भइसकेको छ । तर, चाबहिलबाट बौद्ध तथा बौद्धबाट चाबहिल जाने क्रममा चुच्चेपाटीमा रहेको उक्त पोलले सडक जाम हुँदै आएको छ ।
किन राखिएको छ यो पोल
बिभिन्न देशका राष्ट्र प्रमुखहरुको सवारी हुँदा हायात होटलको नजिक रहेको ति पोलमा दुई देशको झण्डा राख्ने गरिएको थियो । अहिले सडक बिस्तारसँगै ति पोलहरु सडकको बीचमा परेका छन् ।
यसरी बीच सडकमा परेका पोल हटाउने जिम्मेवारी कस्को हो भन्ने विषयमा सरकारी निकाय वाद–विवादमा गरिरहेका छन् । यसले सडकमा सवारीसाधन चलाउने चालक र यात्रुले भने घन्टौँ जाममा बस्नु पर्ने बाध्यता सृजना गरेको छ ।

