काठमाडौं । एक पटकको फुल चार्जमा १४ घन्टासम्म इलेक्ट्रीक कार चलाएर रेन्ज टेष्ट गरिएको छ । चिनियाँ इलेक्ट्रीक कार उत्पादक एनआईओका को-फाउन्डर तथा सीईओ विलियम लीले उक्त परिक्षण गरेका हुन् ।
उनले परिक्षण गरेको एनआईओ इटी-७ सेडान कारमा १५० किलोवाट आवर क्षमताको सेमी-सोलिड स्टेट ब्याट्री दिएर परिक्षण गरेका हुन् । उनले यो परिक्षणलाई १४ घन्टा लगातार आफ्नो सोसल साइटमा लाइभ गरेका थिए ।
सिंगल चार्जमा ३ प्रतिशत ब्याट्री बाँकी रहँदै कारले १ हजार ४४ किलोमिटर यात्रा तय गरेको थियो । बाँकी ब्याट्रीले थप ३३ किलोमिटर गुड्न पुग्ने अनुमान गरिएको छ ।
यसलाई एनआईओले तयार पारेको नेभिगेट-अन-पाइलोट (एनओपी) अटोनोमस ड्राइभिङ सिस्टममा राखेर चलाइएको थियो । कारको स्पीड ९० किलोमिटर प्रतिघन्टा थियो । यस यात्रामा उनले १२ घन्टा ४० मिनेट गाडी चलाएका थिए । बीचमा रेष्ट १ घन्टा २० मिनेट भएको थियो ।
कारले औषतमा १०० किलोमिटर यात्रा गर्न १३.२ किलोवाट आवर ब्याट्री खपत गरेको थियो । कम्पनीले परिक्षण गरेको १५० किलोवाट आवर क्षमताको ब्याट्रीको कुल तौल ५७५ किलोग्राम थियो ।
परिक्षणको क्रममा प्रयोग भएको बाटोको तापक्रम १२ डिग्री सेल्सीयसदेखि माइनस २ डिग्रीसम्म थियो ।

