२० वर्ष पुराना गाडीको कर फागुनसम्म तिरे जरिवानामा ९०% छुट

काठमाडौं । बागमती प्रदेश सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीसाधनको तिर्न बाँकी करमा लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

शुक्रबार बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा (तामाङ)ले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटमा यस्तो घोषणा गरिएको हो ।

सार्वजनिक सवारीसाधनले तिर्न बाँकी कर र नवीकरण शुल्क आगामी फागुन मसान्तसम्म तिरे जरिवानामा ९० प्रतिशत छुट दिइने मन्त्री लामाले बताए ।

‘बागमती प्रदेशका यातायात व्यवस्था कार्यालयहरूमा दर्ता भई २० वर्ष पूरा भएका कारण संचालनमा आउन नसक्ने सार्वजनिक सवारी साधनको २० वर्ष अवधिको तिर्न बुझाउन बाँकी रहेको सवारीसाधन कर र नवीकरण दस्तुर सम्वत् २०८० फाल्गुण मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना ९० प्रतिशत छुट दिई सम्बन्धित कार्यालयहरूबाट त्यस्ता साधनको लागत कट्टा गर्ने व्यवस्था मिलाएको छु,’ बजेट वक्तव्यमा भनिएको छ ।


Back_to_top