गतवर्ष विश्व बजारमा सर्वाधिक बिक्री भएका १० कार मोडल

काठमाडौं । विश्व बजारमा सर्वाधिक धेरै बिक्री हुने मोडलहरु कुन कुन हुन् भन्ने जिज्ञासा धेरैले राख्ने गर्छन् । सन् २०२४ मा विश्वभर सबैभन्दा धेरै बिक्री भएको कार टेस्ला मोडल वाई हो ।

टेस्लाले सन् २०२४ मा करिब १८ लाख युनिट कार बिक्री गरेकोमा सबैभन्दा धेरै १० लाख ९ हजार युनिट मोडल वाई बिक्री गरेको थियो । उक्त बिक्री संख्यासँगै मोडल वाई गतवर्ष सबैभन्दा धेरै बिक्री भएको कार मोडल बन्न पुग्यो ।

सर्वाधिक धेरै बिक्री भएको दोस्रो र तेस्रो मोडल टोयोटाका छन् । जापानी निर्माताले विश्वभर कोरोला मोडल १० लाख ८ हजार बिक्री गर्दा र्याभफोर १० लाख २ हजार युनिट बिक्री गरेको थियो ।

चौथो धेरै बिक्री भएको मोडल फोर्डको एफ–१५० पीकअप हो । अमेरिकी निर्माता फोर्डले ९ लाख युनिट एफ–१५० पीकअप बिक्री गरेको थियो । सन् २०२३ मा सर्वाधिक बिक्री भएको मोडलमा रहेको एफ–१५० तीन स्थान तल झरेको हो ।

सर्वाधिक बिक्री भएको मोडलको सूचीमा पाँचौ स्थानमा होन्डा सिआर–भी छ । जापानी कम्पनी होन्डाले गतवर्ष ७ लाख ४० हजार युनिट सीआर-भी बिक्री गरेको थियो ।

सूचीको छैटौं स्थानमा अमेरिकी कार निर्माता जनरल मोटर्सको सेभ्रोले सिल्भराडो परेको छ । कम्पनीले गतवर्ष ६ लाख ४० हजार युनिट सिल्भराडो बिक्री गरेको थियो ।

कोरियन कार निर्माता हुन्डाईले आफ्नो लाइनअपको सर्वाधिक सफल मोडल टुसान ५ लाख ८० हजार युनिट बिक्री गर्दै धेरै बिक्री हुने मोडलको सूचीमा आफुलाई सातौं स्थानमा उभ्याएको थियो ।

टोयोटाकै क्याम्री सेडान ५ लाख ८० हजार युनिट बिक्रीसँगै आठौं धेरै बिक्री हुने मोडल बन्यो । चिनियाँ ब्राण्ड बीवाइडीको सङ मोडल धेरै बिक्री भएको मोडलमा नवौं स्थानमा रहन सफल भयो । कम्पनीले गतवर्ष ५ लाख ७० हजार युनिट सङ मोडल बिक्री गरेको थियो ।

सुचीको १० औं स्थानमा जर्मन ब्राण्ड फक्सवागेनको टिगुवान पर्न सफल भयो । कम्पनीले ५ लाख ४० हजार युनिट टिगुवान बिक्री गरेको थियो ।


Back_to_top