काठमाडौं । अहिले बजारमा किन्न पाइने सब फोर मिटर एसयूभीको बिकल्प अहिलेसम्म ईभीमा उपलब्ध छैन । विद्युतीय कारको चर्को दबदबासँगै पेट्रोल कारको चर्चा नै बन्द भएजस्तो धेरैलाई लाग्छ ।
अहिले पनि बजारमा कम मूल्यमा उत्कृष्ट पेट्रोल कार तपाईले खरिद गर्न सक्नु हुन्छ । हुन्डाई, निसान, मारुती सुजुकी र कियाले उत्कृष्ट सब-फोर मिटर एसयूभी बिक्री गर्दै आएका छन् ।
यदि, तपाईको वार्षिक यात्रा ७-८ हजार किलोमिटर मात्रै छ भने अहिले पनि तपाईको लागि पेट्रोल एसयूभी सहि छनोट हुन सक्छ । होइन वार्षिक १५ देखि २० हजार किलोमिटर यात्रा गर्नुपर्छ भने विद्युतीय कार फाइदाजनक देखिन्छ ।
कम्तीमा १० वर्षको ‘ओनर सिप कष्ट‘ हिसाव गरेर गाडी किन्ने उपभोक्ताले अहिले पनि पेट्रोल कार खरिद गरिरहेका छन् । यस्तोमा बजारमा उपलब्ध सब फोर मिटर एसयूभी धेरैको रोजाईमा पर्दै आएको छ । हुन्डाई भेन्यू, निसान म्याग्नाइट, मारुती सुजुकी ब्रेजा यो सेग्मेन्टमा चल्तीका मोडल हुन् ।
हुन्डाई भेन्यू
लक्ष्मी मोटरले नेपालमै एसेम्बल गर्दै आएको भेन्यू मासिक औषत ३५ युनिट हाराहारी बिक्री हुँदै आएको अनुमान गर्न सकिन्छ । मेड इन नेपाल भेन्यू अहिले चल्तीको सब फोर मिटर एसयूभी हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिक्री गर्दै आएको भेन्यू एसयूभीमा १.२ लिटर इन्जिन उपलब्ध छ । निकै किफायती इन्जिन भएको भेन्यू आफ्नो डिजाइन र लुक्सको कारण पनि धेरैले मनपराएको मोडल हो । अहिले नेपाली बजारमा भेन्यूको सुरुवाती भेरियन्टको मूल्य ४० लाख ९६ हजार रुपैयाँ रहेको छ ।
निसान म्याग्नाइट
पायोनियर मोटोकर्पले नेपालमा बिक्री गर्दै आएको म्याग्नाइटको भर्खरै मात्र फेसलिफ्ट मोडल बजारमा आएको छ । मूल्यका हिसावले ३४ लाख ४९ हजार रुपैयाँबाटै सुरु हुने म्याग्नाइट सफल मोडल हो ।

निसानको ब्याच, कम मूल्य र सब फोर मिटर साइजको कारण नै यसलाई धेरैले रुचाएका हुन् । क्याविनमा एथेष्ट स्पेस र स्मार्ट लुक्स भएको म्याग्नाइटमा १.० लिटर नेचुरल्ली एस्पीरेटेड र टर्बो गरी दुई फरक इन्जिन पाउन सकिन्छ । म्याग्नाइट उत्कृष्ट माइलेजको लागि परिचित मोडल हो ।
मारुती सुजुकी ब्रेजा
ब्रेजा डिजेलमा आएदेखि नै सफल मोडल हो । यसलाई सिजी मोटोकर्पले सन् २०१७ देखि नेपाली बजारमा उपलब्ध गराएको हो । हुन्डाई क्रेटा पछाडिको सर्वाधिक सफल मोडल ब्रेजा अहिले पनि धेरैको छनोटमा पर्दै आएको छ ।

बल्की डिजाइन, १.५ लिटरको ठूलो पेट्रोल इन्जिन, प्रिमियम लाग्ने क्याविन र सुरक्षामा पनि अब्बल भएको कारण ब्रेजा सफल मोडल मानिन्छ । यसको सुरुवाती मूल्य ४६ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

