काठमाडौं । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नयाँ जेनेरेशन र्याभफोर एसयूभी नेपाल ल्याउने भएको छ । आगामी २/३ महिना भित्रै नेपालमा बिक्री सुरू हुने र्याभफोर एसयूभी हाइब्रिड मोडल हो ।
अन्तर्राष्ट्रिय बजारमा छैटौं पुस्ताको टोयोटा र्याभफोर हाइब्रिड र प्लगइन हाइब्रिड गरी दुई अप्सनमा उपलब्ध छ । सम्भवतः नेपालमा हाइब्रिड टेक्नोलोजीमा आधारित र्याभफोर मात्रै आउने छ । यसको प्लगइन हाइब्रिड मोडल तत्काल आउने छैन ।
छैटौं जेनेरेशन र्याभफोर एसयूभी ‘टीएनजीए-के’ प्लेटफर्ममा बनेको हो । उक्त प्लेटफर्ममा बनेका एसयूभी निकै बलियो मानिन्छ । नयाँ सस्पेन्सन सेटअप सहित आएको कारण यसको राइड कम्र्फट पनि पहिलेभन्दा निकै सुधार भएको कम्पनीको दाबी छ । नयाँ र्याभफोर पहिलेभन्दा कम आवज पैदा गर्ने र भाइब्रेसन पनि निकै घटेर आएको दाबी टोयोटाले गरेको छ ।
सबैभन्दा रोचक कुरा के छ भने नयाँ जेनेरेशन र्याभफोरको एक्सटेरियर कोर, रग्ड र स्पोर्ट डिजाइन प्रेरित छन् । उसभोक्ताले आफ्नो इच्छा अनुसारको बडी डिजाइनमा यसलाई छनोट गर्न सक्नेछन् । नेपाली बजारमा कुन बडी डिजाइनमा आउँछ, अहिल्यै एकिन भइसकेको छैन ।
इन्जिनको कुरा
नेपालमा हाइब्रिड मोडल मात्रै आउने भएको कारण अन्तर्राष्ट्रिय बजारमा उपलब्ध स्पेकलाई यहाँ चर्चा गरौं । यसमा २.५ लिटर इनलाइन फोर सिलिण्डर इन्जिन उपलब्ध हुनेछ । उक्त इन्जिनले अधिकतम २२६ एचपी पावर प्रदान गर्छ ।

अन्तर्राष्ट्रिय बजारमा यसलाई अल ह्वील ड्राइभ अप्सनमा पनि टोयोटाले उतारेको छ । नयाँ जेनेरेशन र्याभफोर एसयूभीमा नर्मल, इको, कस्टुम र ईभी मोड उपलब्ध छ ।
अन्य फिचर
टोयोटाले नयाँ जेनेरेशन र्याभफोर एसयूभीमा सबै लाइट एलईडी प्रयोग गरेको छ । भेरियन्ट अनुसार १७ देखि २० इन्चसम्मको ह्वील पाउन सकिन्छ ।
यसको इन्टेरियरमा १२.३ इन्चको डिजिटल क्लष्टर, १२.९ इन्चसम्मको मल्टिमिडिया सिस्टम, हेडअप डिस्प्ले, सिफ्ट वाइ वायर, रिभर्सिबल कन्सोल र ह्याण्ड्स फ्री पावर लिफ्टगेट दिइएको छ ।
टोयोटाले ५ जी कनेक्टिभिटी प्रदान गरेको छैटौं जेनेरेशन र्याभफोरमा ‘बिल्ट इन ड्राइभर रेकर्डर’, टोयोटा सेफ्टी सेन्स ४.० दिएको छ । यसमा एडास भित्र रहने सबै किसिमका एड्भान्स सेफ्टी फिचर्स उपलब्ध हुनेछन् ।

कति पर्ला मूल्य ?
नेपालमा नयाँ जेनेरेशन र्याभफोरको कुन भेरियन्ट आउँछ भन्ने एकिन छैन । त्यसैले यसको मूल्य पनि एकिन साथ भन्न सक्ने अवस्था छैन । यद्यपि, २ करोड २० लाख रुपैयाँ हाराहारीमा बिक्री हुनेगरी नयाँ जेनेरेशन र्याभफोर नेपाल आउन सक्ने देखिन्छ ।

