काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ।
आयोगले माघ २० गते कार्यविधि स्वीकृत गर्दै जारी गरेको हो । आयोगले चुनाव प्रचारप्रसार र मतदानको दिन सवारी साधन प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउन कार्यविधि जारी गरेको हो ।
अब यही कार्यविधि भित्र व्यवस्था गरिए अनुसार राजनीतिक दल, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन प्रयोजनका लागि सवारी साधन प्रयोग गर्न पाउने छन् ।
१. अनुमति लिनुपर्ने : कार्यविधि अनुसार कुनै पनि राजनीतिक दल, उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले सवारीसाधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनुमति लिनुपर्नेछ ।
त्यसका लागि तोकिएको ढाँचामा निर्वाचन अधिकृत समक्ष निवेदन दिनुपर्नेछ । निर्वाचन अधिकृतले तोकिएको सीमा भित्र रही सम्बन्धित दल वा उम्मेदवारलाई सवारी साधन प्रयोग गर्न अनुमति दिनेछ । अनुमति नलिई निर्वाचन प्रयोजनका लागि सवारी साधन प्रयोग गर्न पाइने छैन ।
२. बढीमा दुई वटा सवारी प्रयोग गर्न पाउने : कार्यविधि अनुसार प्रतिनिधिसभा सदस्य उम्मेदवारले बढीमा दुईवटा दुईपाँग्रे, तीनपाँग्रे वा चारपाँग्रे (हलुका) सवारी साधन प्रयोग गर्न पाउनेछन् । सवारी साधन संचालन नहुने ठाउँका उम्मेदवारले बढीमा ४ वटा घोडा प्रयोग गर्न पाउने छन् ।
३. मौन अवधिमा चलाउन नपाइने : निर्वाचन प्रचारप्रसारका लागि अनुमति लिइएका सवारी साधन मौन अवधिमा प्रयोग गर्न पाइने छैन । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान सम्पन्न नभएसम्मको समयावधिलाई मौन अवधि तोकिएको कार्यविधिमा उल्लेख छ ।

४. निर्वाचनपछि मात्रै फिर्ता : यदि, अनुमतिपत्र नलिई सवारीसाधन प्रयोग गरेमा वा अनुमति लिएको सवारी मौन अवधिमा प्रयोग गरेमा त्यस्ता सवारीसाधन नियन्त्रणमा लिइने छ । ती सवारी साधन निर्वाचन सम्पन्न भएपछि मात्र फिर्ता गरिनेछ ।
जिल्ला आचारसंहिता अनुगमन समितिले नियमित अनुगमन गर्दा उल्लंघन गरिएको देखिएमा स्थानीय प्रशासनलाई सवारीसाधन नियन्त्रणमा लिन निर्देशन दिनेछ ।
मतदानको दिन अनुमति प्राप्त सवारीसाधन बाहेक अन्य कुनै पनि सवारीसाधन संचालन गर्न पाइने छैन । यद्यपि, हवाई उडानको हकमा भने यो व्यवस्था लागू हुने छैन ।
५. चुनावको दिन अनुमति पाउने : कार्यविधिमा मतदानको दिनमा विभिन्न व्यक्तिले अनुमति लिएर सवारी साधन चलाउन पाउने छन् ।
मतदानको दिन उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकाय तथा पदाधिकारी, राष्ट्रिय सूचना आयोग, पर्यवेक्षक, कूटनीतिक नियोग, संयुक्त राष्ट्रसंघका नियोग, सञ्चारमाध्यम, विदेशी पर्यटक, अन्तरराष्ट्रिय संघसंस्था, अवलोकनकर्ता, अनुगमनकर्ता, विशिष्ट अतिथि तथा आयोगले तोकेका अन्य निकाय र व्यक्तिले सवारीसाधन प्रयोगको अनुमति पाउने छन् ।
त्यस्तै, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले मतदानको दिन सवारी चलाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ। उम्मेदवार बाहेक अन्य निकाय वा पदाधिकारीले सम्बन्धित निकायको आधिकारिक पत्रसहित मतदान हुने दिनभन्दा कम्तीमा २ दिन अघि नै निवेदन दिई अनुमति मागनुपर्नेछ ।
काठमाडौं जिल्लाको हकमा निर्वाचन आयोग परिसरमा एकीकृत सवारीसाधन आवागमन डेस्क स्थापन गरिने छ । अन्य जिल्लाको हकमा जिल्ला प्रशासन कार्यालयले मुख्य निर्वाचन अधिकृतको समन्वयमा गरी अनुमति दिनुपर्नेछ ।
६. विदेशी सवारी प्रयोग गर्न नपाइने : कार्यविधि अनुसार निर्वाचन प्रचार प्रसार प्रयोजनका लागि विदेशी नम्बर प्लेट भएका सवारी साधन प्रयोग गर्न अनुमति दिइने छैन ।
७. अनुमति लिन नपर्ने : विशेष प्रकृतिका सवारी साधन भने अनुमति नलिई संचालनगर्न पाइने छ । कार्यविधि अनुसार एम्बुलेन्स, दमकल, शववाहन, अस्पताल सेवा, खानेपानी ट्यांकर, दूध ढुवानी, दूरसञ्चार, विद्युत् सेवा जस्ता अत्यावश्यक सेवाका सवारी साधनले अनुमति लिनुपर्दैन । साथै, सीडी नम्बर प्लेट भएका कूटनीतिक नियोगका सवारीलाई पनि अनुमति लिनु पर्दैन ।

