काठमाडौं । विश्व बैंकले अहिले प्रतिबन्ध लगाइएका बस्तुको आयात खोल्न नेपाल सरकारसँग आग्रह गरेको छ । हिजो सोमबार काठमाडौंमा ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिबेदन सार्वजनिक गर्दै विश्व बैंकले नेपालको विदेशी मुद्रा संचितिमा सुधार आएको भन्दै आयात प्रतिबन्ध लगाइएका बस्तुको आयात खोल्न भनेको हो ।
सरकारले विदेशी मुद्रा संचिति घटेको भन्दै गत बैंशाख १४ गतेदेखि विभिन्न १० बस्तुको आयात प्रतिबन्ध लगाएको थियो । तर, क्रमिक रुपमा अन्य बस्तुको आयात खोलिएपनि निजी प्रयोजनमा प्रयोग हुने पेट्रोलियम पदार्थबाट चल्ने कार, १५० सीसी माथिका मोटरसाइकल, ३०० डलर माथिका स्मार्ट फोन र विभिन्न देशबाट आयात हुने मदिराको आयात भने अहिले पनि बन्द नै गरिएको छ ।
आयात खुल्ला राखेर आवश्यकताको आधारमा केन्द्रिय बैंकले त्यसमा प्रबाह हुने कर्जामा कडाई गर्ने बाटो अवलम्बन गर्न विश्व बैंकले सुझाव दिएको छ । यस्तै सुझाव यसअघि आइएमएफले पनि दिएको थियो । तर, नेपाल सरकारले सुन, तास, लेज, कुर्कुरे लगायतका बस्तुको आयात खोल्दा पनि गाडी लगायतका बस्तुको आयात खुल्ला गरेको छैन ।
शोरुम संचालकहरु आर्थिक संकटमा
सरकारले गाडी आयातमा प्रतिबन्ध लगाएसँगै शोरुम संचालन गर्दै आएका स्थानिय डिलरहरु थप समस्यामा परेका छन् । अहिले विभिन्न चार पाङ्ग्रे गाडी विक्री गर्ने ब्राण्डका देशभर २५० हाराहारी शोरुमहरु संचालनमा छन् । तर, विगत ८ महिनादेखि गाडी आयात रोकिदा ती शोरुमहरु खाली भएको विक्रेताहरुको भनाई छ ।
अहिले शोरुम खोलेर बसेका व्यवसायीसँग विक्री गर्न गाडी छैन । सरकारले कहिलेबाट खोल्छ, त्यसको पनि टुङ्गो छैन । त्यसले धेरै डिलर कर्मचारी कटौती गर्दै सर्भिस सेन्टर मात्रै खोलेर बस्ने अवस्थामा पुगेका छन् ।


