बीएस ६ इन्जिन भएका ३ मोटरसाइकल बीच कडा प्रतिस्पर्धा

काठमाडौं । बीएस ६ इन्जिनमा तयार भएका यामाहा, टीभीएस र सुजुकीका मोटरसाइकल बीच कडा टक्कर हुने देखिएको छ ।

अहिले पनि यी तीनवटै मोटरसाइकलको बीएस ४ मोडल नेपाली बजारमा बिक्री वितरण भइरहेको छ । नेपालमा बिक्री हुने यामाहा एफजेड भि थ्री, सुजुकी जिक्सर र टीभीएस अपाचे १६० फोर भी बीच प्रतिस्पर्धा चलिरहेको छ ।

नयाँ आउने बीएस ६ मोडलमा पनि यी तीन बीच नै कडा टक्कर हुने देखिएको छ । भारतमा उत्पादन भएका यी तीनवटै मोडलको बीएस ६ मोडल बजारमा आइसकेको छ । तर, नेपाल कहिले आउँछ भन्ने विषयमा कम्पनीहरुले केही जानकारी दिएका छैनन् ।

नेपालमा यामाहाका उत्पादन मोरङ अटो वर्कसले बिक्री वितरण गर्दै आएको छ भने टीभीएस मोटरसाइकल जगदम्बा मोटर्स र सुजुकीका दुई पाङ्ग्रे सवारी साधन विशाल ग्रुप अन्तर्गतको सुजुकी भिजीले बिक्री वितरण गरिरहेको छ ।

यस्तोमा बीएस ६ मापदण्डको मोटरसाइकल बीच कस्तो प्रतिस्पर्धा हुँदैछ र यसमा रहेको फिचरका भिन्नता कस्ता रहेका छन् भन्ने विषयमा जानकारी दिने प्रयास यहाँ गरिएको छ ।

यी तीन मोटरसाइकलमा सिट हाइटको आधारमा टीभीएस अपाचे १६० फोर भी सबैभन्दा अग्लो रहेको छ । यसको सिट हाइट ८०० एमएम रहेको छ भने सुजुकी जिक्सरको ७९५ एमएम र यामाहा एफजेड भि थ्रीको ७९० एमएम रहेको छ ।

ह्वीलवेसको मामलामा तीन वटै मोटरसाइकलमा कडा टक्कर रहेको छ । टीभीएस अपाचे १६० फोर भीको ह्वीलवेस १३५७ एमएम, जिक्सरको १३३५ एमएम र एफजेड भि थ्रीको १३३० एमएम रहेको छ ।

दुबै चक्कामा डिस्क ब्रेक रहेका यी तीनवटै मोटरसाइकलमा सबैभन्दा ठूलो डिस्क ब्रेक एफजेड भि थ्रीमा रहेको छ । यसको अगाडी २८२ एमएमको डिस्क ब्रेक रहेको छ भने जिक्सरमा २६६ एमएम र अचापेमा २७० एमएमको डिस्क ब्रेक रहेको छ ।

पछाडिको डिस्क ब्रेक जिक्सरमा २४० एमएम, एफजेडमा २२० एमएम र अपाचेमा २०० एमएमको डिस्क ब्रेक दिइएको छ ।

सस्पेन्सन तीनवटै मोटरसाइकलमा समान रहेको छ । यी मोटरसाइकलमा अगाडी टेलिस्कोपीक फर्क र पछाडी मोनोशक सस्पेन्सन रहेको छ । यी तीनवटै मोटरसाइकलमा १७ इन्चको अलोय ह्वील दिइएको छ ।

अगाडीको टायर जिक्सर र एफजेडमा समान १००/८० छ भने, अपाचेमा ९०/९० को रहेको छ । पछाडिको टायर पनि दुबैको समान १४०/६० रहेको छ भने अपाचेको १३०/७० रहेको छ ।

इन्जिन र पावर

टीभीएसले अपाचे १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर आयलकुल्ड इन्जिन दिएको छ । त्यस्तै सुजुकी जिक्सरमा १५५ सीसी सिंगल सिलिण्डर एयर कुल्ड र यामाहा एफजेड भि थ्रीमा १४९ सीसी सिंगल सिलिण्डर एयरकुल्ड इन्जिन दिइएको छ ।

पावरको मामलामा टीभीएस दुबै मोटरसाइकल माथि भारी पर्छ । अपाचे १६० ले अधिकतम ८२५० आरपीएममा १६.०२ बीएच पावर प्रदान गर्छ भने ७२५० आरपीएममा १४.१२ एनएम टर्क प्रदान गर्छ ।

त्यस्तै दोस्रो स्थानमा सुजुकी जिक्सर रहेको छ । जिक्सरमा रहेको इन्जिनले अधिकतम ८००० आरपीएममा १३.६ बीएच पावर र ६००० आरपीएममा १३.८ एनएम टर्क प्रदान गर्छ ।

यामाहा एफजेड भि थ्रीले अधिकतम ७२५० आरपीएममा १२.४ बीएच पावर र ५५०० आरपीएममा १३.६ एनएम टर्क प्रदान गर्छ ।

मूल्य

यी तीनवटै मोटरसाइकलमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ भने यी बाइकको मूल्य भारतमा फरक फरक रहेको छ । जिक्सर सबैभन्दा महंगो रहेको छ । यसको एक्स शोरुम मूल्य १ लाख १२ भारु, टीभीएस अपाचेको १ लाख ३ हजार भारु र यामाहा एफजेडको मूल्य ९९ हजार २०० भारु रहेको छ ।


Back_to_top