काठमाडौं । नयाँ वर्षको अवसरमा गाडी उत्पादक कम्पनीबीच नयाँ मोडल सार्वजनिक गर्ने तिब्र प्रतिस्पर्धा सुरु भएको छ । मारुती सुजुकी, टाटा र निशानले भारतीय बजारलाई केन्द्रमा राखेर नयाँ मोडल सार्वजनिक गरेका हुन् ।
वर्षको पहिलो ग्रान्ड लञ्चको रुपमा निशानले आफ्नो नयाँ उत्पादन किक्स एसयूभीलाई बजारमा ल्याएको छ भने, टाटाले आफ्नो बहुप्रतिक्षित प्रिमियम एसयूभी ह्यारीयर सार्वजनिक गरेको छ ।
भारतीय अटो बजारमा निकै बलियो पकड बनाएको मारुती सुजुकीले आफ्नो चर्चित मोडल वागेन–आरलाई अल न्यू मोडलको रुपमा सार्वजनिक गरेको छ ।

यी सबै मोडल लञ्चिङ्गमा देखिएको महत्वपूर्ण कुरा भनेको यी गाडीहरुको फिचर र आक्रमक बजार मूल्य हो ।
टाटाले भारतीय बजारमा करिब १५ लाख सुरुवाति मूल्यबाट बिक्री सुरु गर्ने अनुमान गरिएको ह्यारीयरलाई १२ लाख ६९ हजार भारतीय रुपैयाँ तोकेको छ । जुन अनुमानित मूल्य भन्दा २ लाखभन्दा बढीले कम हो ।
निशानले ल्याएको किक्स एसयूभीको मूल्य करिब ११ लाख ५० हजार भारतीय रुपैयाँबाट सुरु हुने अनुमान गरिएको थियो । निशानको फिचर प्याक यो गाडी अनुमान विपरित सुरुवाति मूल्य ९ लाख ५५ हजार भारतीय रुपैयाँ राखिएको छ ।

त्यसैगरी मारुती सुजुकीले ल्याएको अल न्यू वागेन–आरको मूल्यपनि अनुमान भन्दा कम रहेको छ । कम्पनीले सस्तो मूल्यमा बिक्री गर्ने लक्ष्य बनाएको यो कारको सुरुवाति मूल्य ४ लाख ६५ हजार हुने अनुमान गरिएकोमा त्यसको विपरित कम्पनीले यसलाई ४ लाख १९ हजार भारुमा नै बिक्री गर्ने घोषणा गरेको छ ।
मूल्यका कारण नै कम्पनीले सुरुवातमै करिब १२ हजार युनिट गाडी बुकिङ्गसमेत गरिसकेको जनाएको छ ।
नेपाल प्रसंग
यी तीनवटै कार अबको दुई महिना भित्र नेपाली बजारमा पनि सार्वजनिक हुने भएका छन् । भारतमा उत्पादन भएका यी कार नेपाली बजारमा फेब्रुवरी र मार्च महिनामा सार्वजनिक हुने छन् ।
निशान किक्स सबैभन्दा पहिला नेपाली बजारमा आउने छ । यसलाई पायोनियर मोटर्सले फेब्रुवरीमा नेपाली बजारमा ल्याउने जनाएको छ । त्यसका लागि कम्पनीले तयारी सुरु गरिसकेको जनाएको छ ।

मारुती सुजुकी अल न्यू वागेन–आर र टाटा ह्यारीयर भने मार्चमा नेपाली बजारमा आउने छन् ।
त्यसको लागि दुबै कम्पनी मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटो कर्प र टाटाको नेपालको लागि आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आन्तरिक तयारी गरिरहेको जानकारी दिएका छन् ।

