चीनले ईभीमा थप ४ वर्ष छुट दिने

एजेन्सी । ‘न्यू इनर्जी भेहिकल’को विकास र बिस्तारमा आक्रामक काम गर्दै आएको चीनले उपभोक्तालाई दिँदै आएको छुटलाई निरन्तरता दिएको छ । चीनको अर्थमन्त्रालयले सन् २०२७ सम्म सहुलियत प्रदान गर्ने घोषणा गरेको हो ।

चीन सरकारले न्यू इनर्जी भेहिकल किन्ने ग्राहकलाई दिँदै आएको सहुलियत सन् २०२५ को अन्त्यसम्मका लागि अहिलेकै ब्यवस्थालाई निरन्तरता दिएको हो । चीनले अहिले प्रति प्यासेन्जर कार ३० हजार युआन (४१७० डलर) छुट दिँदै आएको छ ।

चीन सरकारले सन् २०२६ जनवरीदेखि २०२७ को डिसेम्बरसम्मको लागि पनि अनुदान घोषणा गरेको छ । सन् २०२७ को अन्त्यसम्म गाडी किन्ने मानिसले भने १५ हजार यूआन मात्रै छुट पाउने छन् । पछिल्ला दुई वर्ष ईभी किन्नेलाई ५० प्रतिशत अनुदान कटौती गरिएको हो ।

छुट पाउने न्यू इनर्जी भेहिकलहरुमा प्योर इलेक्ट्रीक भेहिकल, फ्यूलसेल भेहिकल, प्लगइन हाइब्रिड भेहिकलको साथै, एक्टेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल रहेका छन् ।

चीनले पेट्रोलियम पदार्थबाट चल्ने कारमा भने १० प्रतिशत ‘पर्चेज ट्याक्स’ लगाउदै आएको छ । चीन सरकारले ‘न्यू इनर्जी भेहिकल’मा सन् २०१४ देखि छुट दिदै आएको हो ।


Back_to_top