काठमाडौं । गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था विभागले वृद्धि गरेको २८ प्रतिशतसम्मको भाडा वृद्धिलाई अस्विकार गर्दै अधिकतम २३.५१ प्रतिशतसम्म भाडा बढाएको छ । हिजो सोमवार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले नयाँ भाडादर टुङ्गो लगाएको हो ।
यसअघि भाडादर समायोजन गर्न असोज १३ गते भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा १० सदस्यीय प्रदेश भाडादर सिफारिस समिति गठन गरेको गण्डकीले प्रतिवेदनका आधारमा नयाँ भाडादर कायम गरेको हो ।
गण्डकी प्रदेश सरकारले लामो दुरीका बसमा २३.५१ प्रतिशत, नगर बसरमा २२.५५, ट्रक १४.५७, जीपको भाडा ५.५० प्रतिशतले वृद्धि गरेको हो । ट्याक्सीको हकमा भने भाडा समायोजन भएको छैन ।
ट्याक्सीको भाडा समायोजन गर्ने कम अहिले चलिरहेको बताउँदै प्रदेश सरकारले ट्याक्सीले बिलसहितको मिटर राख्नुपर्ने, सबै ट्याक्सीमा जीपीएस अनिवार्य लगाउनु पर्ने जस्ता विषय मन्त्रीपरिषदले पारित गरेको छ ।
यसबाहेक सरकारले बसस्टपको व्यवस्था गर्ने, त्यो बाहेक अन्यत्र रोक्न नपाइने, बसमा जीपीएस जडान गर्नुपर्ने, नयाँ खरिद र दर्ता गर्ने बसको ढोका अटोमेटिक हुनुपर्ने, कार्डबाट भाडा पेमेन्ट गर्ने प्रणाली जडान गर्नु पर्ने जस्ता विषय व्यवसायीसँग छलफल गरेर टुङ्गाउने निर्णय भएको छ ।

