८ महिनामा २१ हजार चालक मापसे कारबाहीमा, २२ जनाको लाइसेन्स खारेज

काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षको आठ महिनामा मापसे (मादक पदार्थ सेवन) कारबाहीबाट १ करोड ८४ लाख  २५ हजार रुपैयाँ राजश्व संकलन गरेको  छ । महाशाखाले गत साउनदेखि फागुन मसान्तसम्म मापसे गरि सवारी चलाउने २१ हजार २ सय २९ सवारी चालकबाट उक्त रकम उठाएको हो ।

८ महिनामा १ सय ९ महिला र २० हजार ९ सय ८७ पुरुष मापसे कारबाहीमा परेको महाशाखाले जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकको संख्या दिनानुदिन बढिरहेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७५÷७६ को फागुन महिनासम्ममा २१ हजार ९ सय ९४ चालकले ‘मापसे’ सम्बन्धी चेतनामूलक कक्षा लिएका छन् ।

महाशाखाको तथ्यांक अनुसार आव २०७४÷७५ मा मापसे कारबाहीमा पर्ने  चालकको संख्या ३२ हजार २ सय ९२ रहेको थियो । जसमा, ३२ हजार २ सय ३४ पूरुष र ५८ जना महिला थिए । कारबाहीबाट २ करोड ७८ लाख १ ४हजार  राजश्व संकलन भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७३÷७४ मा भने कारबाहीमा पर्ने चालकको संख्या २८ हजार ८ सय ८ सय ९६ रहेको थियो । कारबाहीमा परेका ९७ महिला र २८ हजार ७ सय ९९ पुरुषबाट २ करोड ३० लाख ९४ हजार राजश्व संकलन गरिएको थियो ।

महाशाखाले चालू आर्थिक वर्षको सात महिनामा लगातार पाँच पटक सम्म मापसे कारबाहीमा परेका २२ जना चालकको लाइसेन्स खारेज गरेको छ भने, ३७ जनाको लाइसेन्स पाँच पटक प्वाल पारेको छ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी बसन्त पन्तका अनुसार फागुन मसान्त सम्ममा १४ हजार ७ सय ५७ जनाको लाइसेन्स प्वाल पारिएको हो । ट्राफिक प्रहरीले  २०६९ मङ्सिर २२ देखि मादक पदार्थ खाएर सवारी चलाउने चालकको सवारीचालक अनुमतीपत्रमा प्वाल पार्ने अभियान निकै कडाइपूर्वक सञ्चालन गरिरहेको छ ।

पछिल्लो पाँच आर्थिक वर्षको दुर्घटनाको तथ्याङ्क विश्लेषण गर्दा मादक पदार्थ सेवनबाट हुने दुर्घटनाको संख्या उल्लेख छ । तर लापरवाहीपूर्ण सवारी साधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्ने ऐन तथा नियमावली बन्न सकेको छैन ।


Back_to_top