कर्णाली करिडोरको थप ८० किमी कालोपत्र गरिँदै, टेन्डर खुलाउने तयारी

काठमाडौं । कर्णाली करिडोर अन्तर्गत थप ८० किलोमिटर सडक कालोपत्र गरिने भएको छ । अर्थ मन्त्रालयले कर्णाली करिडोरको दुवै (उत्तर र दक्षिण खण्ड) स्तरोन्नति गर्न कुल ६ अर्ब ११ करोड १७ लाख बजेटको स्रोत सुनिश्चित गरेको हो ।

कालिकोटको खुलालुदेखि चिनियाँ नाका हिल्सासम्म जोड्ने २६९ किमी लामो कर्णाली करिडोरलाई दुईखण्डमा विभाजन गरी निर्माण भइरहेको छ । दक्षिण खण्ड (खुलालु-सलीसल्ला) १२३ किमी र उत्तर खण्ड (सिमिकोट-हिल्सा १४६ किमी) रहेको छ ।

अर्थले दक्षिणखण्ड अन्तर्गत कालीकोटको खुलालु-कोट (१३ किमी), भुक्का खोला-पिलुचौर (१५ किमी) र हुम्लाको तुम्चा-सल्लीसल्ला (१३ किमी) गरी कुल ४१ किलोमिटर सडकका लागि ३ अर्ब १५ करोड १ लाख बजेट सुनिश्चित गरेको हो ।

त्यस्तै, उत्तरखण्ड अन्तर्गत हुम्लाको खार्पुनाथ-खरिखेत (१८.२ किमी) र खरिखेत-सल्लीसल्ला (२०.८ किमी) गरी ३९ किलोमिटर लागि २ अर्ब ३३ करोड ७३ लाख बजेटमा सुनिश्चित गरेको हो । त्यसैगरी, कालीकोटको खुलालुदेखि हुम्लासम्म विभिन्न खोलामा ६ वटा सडक पुल बनाउन ६२ करोड ४३ लाख रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । यससँगै उक्त सडक र पुलको नयाँ ठेक्का लगाउन सडक विभागलाई बाटो खुलेको छ ।

खुलालु-सल्लीसल्ला (दक्षिणखण्ड)सडक योजना निमित्त प्रमुख बिसुन्दास लामाले बजेट सुनिश्चित भएसँगै दक्षिणखण्डमा थप ४१ किमी सडक दुई लेनमा स्तरोन्नति अघि बढाइने बताए । उनका अनुसार कालिकोट र हुम्ला जिल्लामा पर्ने सडकलाई तीन प्याकेजमा ठेक्का लगाउने तयारी रहेको बताए । अब सडक विभागले स्वीकृति दिने बित्तिकै टेन्डर आह्वान गरिने र असार भित्रै ठेक्का सम्झौता भइसक्ने उनले बताए ।

‘खुलालु-सलिसल्ला सडक अन्तर्गत ३ प्याकेजका ४१ किमी सडक स्तरोन्नति गर्न ३ अर्ब १५ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित भएको छ । अब विभागबाट अनुमति पाउने बित्तिकै टेन्डर आह्वान गरिन्छ,’ उनले मेरोअटोसँग भने, ‘असार भित्रै ठेक्का लगाई आगामी आवदेखि काम सुरू हुन्छ ।’

कर्णाली करिडोर दक्षिणखण्ड अन्तर्गत यसअघि गत असारमा पिलुचौर-कुवाडी (२३.७ किमी) र कुवाडी-तुम्चा (२७.३ किमी) गरी कुल ५० किमी सडक कालोपत्र गर्न ठेक्का लगाइएको थियो । उक्त ठेक्कामा हाल धमाधम काम भइरहेको उनले बताए ।

पिलुचौर-कुवाडी खण्डको ठेक्का एमरएस पीएस कन्स्ट्रक्सनले ९७ करोड ७८ लाख र कुवाडी-तुम्चा खण्डको एमरएस कोन्टेकरसिंह जेभीले १ अर्ब ४ करोड ९९ लाख रुपैयाँमा पाएको छ । नयाँ ४१ किमी ठेक्का लगाउने सुनिश्चित भएसँगै दक्षिण खण्डको १२३ किमी सडकमध्ये ९१ किमी कालोपत्र हुने भएको छ ।

उनका अनुसार खुलालु-हुम्ला बीचका रहगाड खुलालु खोला, सान्नीगाड, फूगाड, बाजुराको भुक्का खोला, क्वाडी लगायत खोलामा पुल निर्माणका लागि पनि ठेक्का आह्वान गरिने छ । यसका लागि छुट्टै साढे ६२ करोड बजेट छुट्याइएको छ । हाल पुल नहुँदा ती खोलामा जोखिम मोलेरै सवारी तार्नुपर्ने बाध्यता छ ।

त्यस्तै, उत्तरखण्ड अन्तर्गत खार्पुनाथदेखि सल्लीसल्लासम्म ३९ किमी सडक स्तरोन्नति गरिने निमित्त योजना प्रमुख बेलबहादुर नेपालीले बताए । उनका अनुसार खार्पुनाथ-खरिखेत (१८.२ किमी) र खरिखेत-सल्लीसल्ला (२०.८ किमी) दुई प्याकेजमा ठेक्का लगाउने तयारी भइरहेको छ ।

उनले टेन्डर आह्वान गर्न अहिले बिड डकुमेन्ट तयार पार्ने काम भइरहेको बताए । अर्कोसातासम्म टेन्डर आह्वान गर्ने तयारी भइहरेको उनको भनाइ छ । ‘कर्णाली करिडोरको उत्तरखण्डका लागि २ अर्ब ३३ करोड बजेट स्रोत सुनिश्चित भएको छ । खार्पुनाथदेखि-सलीसल्लासम्मको ३९ किमी सडकलाई दुई प्याकेजमा ठेक्का लगाउने तयारी छ । हाल बिड डकुमेन्ट तयार पार्दैछौं । अर्कोसातासम्म टेन्डर आह्वान हुन्छ,’ उनले मेरोअटोसँग भने । असार मसान्त भित्रै ठेक्का सम्झौता भइसक्ने उनले बताए ।

उत्तरखण्डकै हुम्ला सदरमुकाम सिमिकोटदेखि चिनियाँ नाका हिल्सासम्म करिब ९५ किमी सडक चीन सरकारले दुई लेनमा विस्तार गरिदिने भनिए पनि अझै टुंगो लागेको छैन । २०८२ असारमा चिनियाँ टोली आएर फिजिबिलिटी स्टडी गरेका थिए । त्यसपछि कुनै जानकारी नआएको योजना प्रमुख नेपालीले बताए ।

कर्णाली करिडोर नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय सडक हो । यो कर्णाली प्रदेशको लाइफलाइन सडक समेत हो । भारतीय सीमा बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, बाजुरा, हुम्ला हुम्ला हुँदै चीनको सिमान हिल्लसासम्म पुग्छ । यो सडक दुई लेनमा स्तरोन्नति भएपछि कर्णाली प्रदेशलाई मात्र नभई राष्ट्रिय अर्थतन्त्रलाई समेत योगदान पुर्याउने छ । कर्णालीबासीको दैनि जीवनयापन सहज हुनुकै साथै पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने अपेक्षा छ । वैदेशिक व्यापार समेत बढ्ने विश्वास छ ।


Back_to_top