काठमाडौं । अब पूर्व पश्चिम राजमार्गको नारायणगढ-बुटवल सडकखण्ड अन्तर्गत दुम्कीबास क्षत्रेमा सवारी साधन बन्द नहुने भएका छन् ।
बिहीबारदेखि दुम्कीबासस्थित विनयी त्रिवेणी खोलामा २४५ मिटर लामो नयाँ पुल संचालन आएसँगै अब निर्वाध सवारी साधन संचालन हुने भएको हो ।
गत पुस २६ गते विनयी खोलामा रहेको फलामे पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको थियो । तर, खोलामा सामान्य बाढी आउने बित्तिकै डाइभर्सन बगाउने हुँदा घण्टौंसम्म सवारी आवतजावत ठप्प हुने गरेको थियो । आयोजनाले भाँचिएको पुल छेउमा नयाँ पुल निर्माण गरेको हाे ।
पटक पटक वर्षासँगै आएको बाढीका कारण डाइभर्सन बगाउँदा चालक तथा यात्रुले सास्ती खेप्दै आएका थिए । अब भने सबैले राहत पाउने भएका छन् ।
नवलपुर खण्डमा लामो पुल अन्तर्गत पर्ने अरुणखोला र गिरुवारी खोलामा भने बर्खापछि पुल निर्माणको काम गरिने छ । सामान्य गर्न मिल्ने केही काम नियमित भए पनि बर्खाअघि यी पुल निर्माण सम्पन्न नहुने आयोजनाले जनाएको छ ।